अध्यक्ष र सर्वोच्च नेता पदमा ओली–प्रचण्ड सहमति नजिक?

काठमाडौं, साउन १७,

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड साउन ३ गतेको सहमति वरिपरी अर्को सहमति निकाल्ने प्रयासमा छन् ।

नेपालखबरसँग दुई दिनअघिको खबर–वार्तामा प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट नेता सुवास नेम्वाङले एउटा महत्वपूर्ण विषय सम्झाएका छन्।

नेम्वाङले भनेका छन्, ‘एउटा राम्रो सकारात्मक कुरा के छ भन्दा हाम्रा अध्यक्ष र प्रधानमन्त्री केपी ओलीजी म कक्षा दोहोर्‍याउँदिनँ भनिरहनु भएको छ। यस्तो अवस्थामा प्रधानमन्त्रीले भनेजस्तै अलि अगाडि नेतृत्व फेर्ने हो भने अर्ली महाधिवेशन गरौं।’

 

 

अनि प्रधानमन्त्री छोड्ने कुरा नि?

उनले यो जिज्ञासाको जवाफ यसरी दिएका छन्, ‘जहाँसम्म प्रधानमन्त्रीको कुरा छ, आवधिक निर्वाचन गर्ने, अनि त्यसबाट प्रधानमन्त्रीको चयन हुन्छ। निर्वाचनको हकमा यताउता गर्न मिल्दैन। हामीले अस्थिरताको विरुद्धमा आवाज उठाएर चुनाव जितेर आएका हौं, यो सबै कुरालाई हेक्कामा राखेर अगाडि बढे समाधान निस्कन्छ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक स्थिरता र एकताका निम्ति पद त्याग गर्दै आएको’ बताएपनि अहिलेको टकराव शक्ति बाँडफाँटकै विषयमा केन्द्रित छ र, ओलीलाई एक पदबाट राजीनामा गर्न प्रचण्ड–माधव नेपाल समूहले दबाब दिँदै आएको छ।

‘कक्षा दोहोर्‍याउँदिनँ’ भन्नुको अर्थ ओलीले फेरि पार्टीको नेतृत्व वा प्रधानमन्त्री पद दाबी गर्दैनन् भन्ने हो। ओली स्वयंले आफु फेरि प्रधानमन्त्री वा पार्टी अध्यक्षको दाबेदार नभएकाले यो कार्यकाल पूरा समय अर्थात पाँच वर्ष नै प्रधानमन्त्री र महाधिवेशन नभएसम्म अध्यक्षबाट नहट्ने बताउँदै आएका छन्। नेम्वाङले ओलीको त्यही भनाइ दोहोर्याएका हुन्।

 

 

यही लाइनमा मंसिर वा चैतसम्ममा महाधिवेशन गरेर प्रचण्डलाई पार्टीको एकल अध्यक्ष बनाउन सकिने प्रस्ताव ओली पक्षले राखेको छ, जसलाई प्रचण्ड–नेपाल पक्षले विश्वास गर्न सकेको छैन।

स्थायी समिति बैठक स्थगित भइरहेको अवस्थामा साउन ३ गते सचिवालय बैठक बस्नुअघि बालुवाटारमा ओली र प्रचण्डबीच शक्ति बाँडफाँटका विषयमा लामो र निर्णायक छलफल भएको थियो, जहाँ महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी थिए।

नेकपा सचिवालयका एक जना सदस्य र अन्य उच्च स्रोतहरूका अनुसार त्यो भेटघाटमा आगामी जेठ १५ गते बजेट ल्याएपछि राजीनामा दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली सहमत भएका थिए। सँगसँगै मंसिरमा महाधिवेशन गरेर पार्टी अध्यक्ष बनाउने सहमति भएको थियो।

‘प्रचण्डले अहिले नै छोड्न अप्ठेरो भएको भए मंसिरमा प्रधानमन्त्रीबाट राजीनामा गर्नुस्, लिखित गरौं भन्नुभयो’, सचिवालयका ती नेता साउन ३ गते भएको सहमति स्मरण गर्दै भन्छन्, ‘ओलीले हुँदैन भनेपछि फेरि फागुनमा राजीनामा दिएपनि हुने प्रस्ताव आयो, त्यसमा पनि सहमति नजुटेपछि जेठमा अर्को बजेट ल्याएपछि प्रधानमन्त्री छोड्न ओली तयार हुनु भएको हो।’

 

 

त्यो दिन बालुवाटारमा सँगै अन्य दुई वटा सहमति पनि भएका थिए।

आफुलाई पार्टीको सर्वोच्च नेता बनाउने सहमतिमा अर्ली महाधिवेशन गरेर प्रचण्डलाई पार्टीको अध्यक्ष बनाउन सहयोग गर्न ओली तयार भएका थिए। साथै आफु निकटका नेताहरूलाई पार्टीको महत्वपूर्ण पदहरूमा राख्नु पर्ने शर्त राखेका ओलीले बहुदलीय जनवाद नछोड्ने दोहोर्याए।

‘प्रचण्डले बहुदलीय जनवाद नै भनेर जान कठिन हुन्छ तर त्यस विषयमा छलफल गर्न सकिन्छ भनेपछि त्यहाँ एउटा सहमति बन्यो’, ती नेता भन्छन्।

मोटामोटी सहमति भएपछि सचिवालय बैठकमा जानुअघि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि यसबारे ब्रिफिङ गर्नु पर्ने भन्दै त्यसमा ओली निकट नेता शंकर पोखरेललाई पनि राख्न मन गरेपछि त्यही अनुसार तयारी भयो।

सचिवालय बैठकअघि यो सहमतिबारे माधव नेपाललाई जानकारी दिइएको थिएन। त्यसैले ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव राखेपछि प्रचण्डले त्यसमा सहमति जनाए भने नेपालले ‘दुई जना अध्यक्षमात्र मिलेर हुँदैन, विस्तृत प्रस्ताव ल्याउनुस्’ भन्दै प्रश्न गरे।

बैठक सकिएपछि ओली नै पहिला शितलनिवास गएर राष्ट्रपतिलाई प्रचण्डसँग भएको सहमतिबारे ब्रिफिङ गरे। प्रचण्ड पुगेपछि थप ब्रिफिङ भयो, जहाँ ओलीले बहुदलीय जनवादबारे छलफल गर्न सकिने भन्ने सहमति विपरित त्यहाँ जबज नै मान्नु पर्ने शर्त बनाए।

 

 

‘बहुदलीय जनवाद छोड्न सकिँदैन, अब यति सहमति गरेपछि जबज मान्न तपाईं तयार हुनुपर्छ’, ओलीको भनाइ उधृत गर्दे ती नेता भन्छन्, ‘राष्ट्रपतिले मेरो पनि भावना जबजमा जोडिएको छ, त्यसैले जबज नै मानेर जाउँ भन्नु भएपछि सहमति भाँडियो।’

राष्ट्रपति र प्रधानमन्त्री समक्ष ‘जबजलाई शर्त नबनाउँ’ भनेर निस्केका प्रचण्डले खुमलटार पुगेपछि छोरी गंगा दाहाल मार्फत ‘कुनै सहमति नभएको’ सार्वजनिक गरे। अर्को दिन प्रचण्डले माधव नेपाल र आफु निकट नेताहरूलाई शितलनिवासमा ‘जबजको शर्त राखेर’ अपमानित गरिएको ब्रिफिङ गरे।

सहमतिको खाकासमेत बनिसकेको अवस्थाबाट फेरि टाढिएका ओली–प्रचण्ड अब कसरी निकट हुन्छन् भन्ने प्रष्ट भइसकेको त छैन। तर दर्जनौं अनौपचारिक भेटघाट गरिरहेका दुवै पक्षका नेताहरू त्यही साउन ३ गतेको सहमति वरिपरी ओली र प्रचण्डलाई ल्याउन प्रयास गरिरहेका देखिन्छन्।

‘पार्टीलाई फुटबाट जोगाउन सहमति गर्नुको विकल्प छैन, त्यसका लागि दर्जनौं अनौपचारिक भेटघाट भइरहेका छन् र फेरि सहमतिको खाका बनाउने काम भइरहेको छ’, प्रचण्ड निकट एक नेता भन्छन्।

 

 

प्रचण्डलाई दबाब दिने र आफ्नो सन्देश पनि खुमलटार पुर्याउने उदेश्यले ओलीले बिहीबार उनी निकट नौ जना नेतासँग डिनर बैठक गरे। रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा, चक्रपाणि खनाल र देवेन्द्र पौडेलले यो सामुहिक भेटपछि प्रचण्डलाई महाधिवशेनसम्म ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएका छन्।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्न ओली तयार नभएपछि अब महाधिवेशनपछि अध्यक्ष र अर्को चुनावपछि प्रधानमन्त्री को हुने भन्ने विषयमा बहस सुरु भएको छ। तत्कालका लागि सहमति जुटाएर आफ्नो पद सुरक्षित गर्न ओली आफैंले त्यो बहस सुरु गरेका हुन्, अर्ली महाधिवेशनको प्रस्ताव गरेर।

यो प्रस्तावले नेकपाभित्र दुई वटा प्रश्न उठाएको छ, के मंसिर वा चैतमा महाधिवशेन गर्न ओली साँच्चिकै तयार छन्? महाधिवेशनसँगै उनी अध्यक्ष पद छोड्न तयार भएका हुन्?

 

 

प्रचण्ड–नेपाल निकट धेरै नेताहरू के ठान्छन् भने आर्ली महाधिवशेन गर्ने र अध्यक्ष पद छोड्ने ओलीको प्रस्ताव यो समूहमा विभाजन ल्याउने र अलमल्याउँदै सत्ता लम्ब्याउने अर्को कार्ड मात्रै हो। जस्तो कि उनले जबज छोड्न सकिँदैन भनेर नेतृत्व हस्तान्तरणमा अर्को बार लगाइसकेका छन्।

सम्मानका लागि सर्वोच्च नेताको औपचारिक पद सिर्जना गर्न प्रचण्ड–नेपाल समूहका नेता तयार नै देखिन्छन्। तर उनीहरूको आशंका के छ भने ‘सर्वोच्च नेता’ को रुपमा पार्टी अध्यक्षभन्दा माथि नम्बर एक बरियातामा रहेर ओलीले नेतृत्वमा आफु हाबी भइरहने आकांक्षा पालेका छन्।

‘यदि सर्वोच्च नेताको पद औपचारिक सम्मानका लागि मात्रै होइन भने ओलीले त्यो पदमा रहेर पार्टी आफ्नो पकडमा राख्न र प्रधानमन्त्री हुन प्रयास गर्नेछन्, जसले अर्को विवाद जन्माउने छ’, स्थायी समितिमा माधव नेपाल निकट एक नेता भन्छन्, ‘अहिले नै पनि कुनै हिसावले शक्ति बाँडफाँट गर्न र चाँडै महाधिवेशन गरेर सम्पूर्ण रुपमा नेतृत्व हस्तान्तरण गर्न ओली तयार हुनु भएको हो भने त सहमति टाढा छैन। तर दुई जना अध्यक्ष मात्रै मिलेर सहमति हुँदैन, त्यसका लागि औपचारिक प्रस्ताव ल्याउनु पर्छ र बैठकमा विधिपूर्वक छलफल गरेर निर्णयमा पुग्नुपर्छ।’’

ओली स्वयं र उनी निकट नेताहरूले भन्दै आएजस्तै ‘कक्षा नदोहोर्याउने’ निर्णयमा उनी पुगिसकेका हुन् भने प्रचण्ड–नेपाल पक्षसँग सहमति गर्न यसले ढोका खोल्न सक्छ। नेपालखबर बाट