कम्युनिष्टको जनाधार नराम्ररी काटिँदै

संघीय संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग दुई तिहाइ नजिकको बहुमत छ । तर, त्यस्तो उपलब्धिमाथि आफ्नै दलभित्रबाट कसरी खेलबाड हुँदैछ ? आँखामा पट्टी बाँधेर सत्तास्वार्थ र अन्तरिक लडाईंमा नेताहरू लाग्दा विपक्षीहरू कसरी आगामी चुनावको हिसाब गर्दैै पाइला चालिरहेका छन् ? जनआस्थाले यही परिदृश्यलाई केलाएको छ ।

 

 

मुलुकको सिंगो राजनीतिक क्षितिजलाई नियाल्दा घटना उति ठूलो होइन । तर, सूर्यबहादुरका छोरा सुनील थापासहित ३१ जनाले राप्रपा परित्याग गरेको र नेपाली कांग्रेसमा प्रवेश गरेको कुराले देशव्यापी मत संख्याको हिसाबसँग मतलब राख्छ । राप्रपा छाड्ने र कांग्रेस प्रवेश गर्ने त्यो जत्थामा हिमाल, पहाड, तराई, उपत्यका, दलित, जनजाति, महिला, मुस्लिम र थारु समुदायको प्रतिनिधित्व छ । यो जत्थाले प्रत्येक जिल्लामा पाँच सयका दरले योगदान गर्दा पनि नेपाली कांग्रेसले प्राप्त गर्ने कूल मतमा ३८ हजार थपिन्छ । अझ सूर्यबहादुरको प्रभावक्षेत्र मानिने धनकुटा र पूर्वी पहाडका केही जिल्लाको हिसाब निकाल्ने हो भने नेकपाका निम्ति ठूलो घाटा हुनेछ । धनकुटाबाहेक सूर्यबहादुर खलकको प्रभाव सुनसरीको उत्तरी र मोरङको पूर्वी भेगमा छ, जहाँ सय बिघा हाराहारीको जमिन अहिले पनि अरुले नै कमाइरहेका छन् । उनीहरू त्यसको बाली लिँदैनन्, हिसाब खोज्दैनन् र कुनै राजनीतिक उपस्थिति पनि जनाउँदैनन् । तर, सूर्यबहादुरको पोष्टर बोकेर छोरा सुनीलहरू राजनीतिक उद्देश्यले त्यहाँ पुग्दा विभिन्न दलमा विभाजित ती मतदाता एक ठाउँमा आउन बाध्य हुन्छन् । त्यसो गर्दा पूर्वमा कांग्रेसले नेकपाका राम्रा–राम्रा प्रभाव क्षेत्रतिर आफ्नो बलियो उपस्थिति जनाउन सक्छ ।

 

 

त्यसमाथि संसदीय निर्वाचन यस्तो कि, थोरै मतले जित र हार निर्धारित हुने । जस्तो कि, मोरङको क्षेत्र नं. ६ मा नेकपाका लालबाबु पण्डितले नेपाली कांग्रेसका शेखर कोइरालालाई जम्मा ६ सय ७५ मतले जितेका हुन् । मोरङकै क्षेत्र नं. ३ बाट अहिलेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कांग्रेसका सुनिल शर्मालाई जम्मा १९ सय ७ मतले जितेका थिए । सुनसरी– ३ मा कांग्रेसका विजय गच्छेदारले नेकपाकी भगवती चौधरीलाई जम्मा ३ सय २१ मतले हराए । काठमाडौंको क्षेत्र नं. १ मा कांग्रेसका प्रकाशमान सिंहले साझा पार्टीका रवीन्द्र मिश्रलाई ८ सय १८ मतले जितेका थिए । काठमाडौंकै ८ नंं क्षेत्रमा नेकपाका जीवनराम श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई जम्मा ४ सय ४४ मतले हराएका हुन् । मुस्ताङमा नेकपाका प्रेम तुलाचनले कांग्रेसका रोमी गौचनलाई ३ सय ६३ मतले, कपिलवस्तु– १ मा नेकपाका चक्रपाणि खनालले कांग्रेसका दीपकुमार उपाध्यायलाई ९ सय ४६ मतले जिते ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई बर्दिया १ बाट कांग्रेसका सञ्जय गौतमले ७ सय ५३ मतले हराएका थिए । हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले कांग्रेसका मंगलबहादुर शाहीलाई जम्मा ४७ भोटले पछि पारेका हुन् ।

 

 

समानुपातिकतर्फ हेर्दा ०७४ को संघीय संसदमा सत्तारुढमध्ये तत्कालीन एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत (३३.२४८५ प्रतिशत) पाएको थियो भने नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत (३२.७७५९ प्रतिशत) ल्याएको थियो । यो भनेको कांग्रेसको भन्दा मात्र जम्मा ४५ हजार १ सय ५ ले एमाले अगाडि हो । तत्कालिन माओवादी केन्द्रले समाजवादी जनता पार्टी र जनजागरण पार्टीसँग मिलेर समानुपातिक निर्वाचनमा भाग लिँदा देशभरिबाट १३ लाख ३ हजार ७ सय २१ मत (१३.६५९० प्रतिशत) पाएको थियो । अहिले राजपा, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टीबीच एकता भएको छ । ०७४ को समानुपातिकतर्फ राजपाले चौथो स्थान, अर्थात् ४ लाख ७२ हजार २ सय ५४ मत ल्याएको थियो, संघीय समाजवादीले ४ लाख ७० हजार २ सय १ मत, नयाँ शक्तिले ८१ हजार ८ सय ३७ मत पाएको थियो । यसलाई जोड्दा १० लाख २४ हजार ३ सय १ हुन्छ ।

यदि अहिले सत्तारुढ दलमाथि विपक्षीहरूको बढ्दो घेराबन्दी यही किसिमले विकास हुने हो भने ०७४ मा तीन टुक्रा भएर चुनावमा भाग लिने राप्रपा मधेसवादीहरूको गठबन्धनमा जान्छ । त्यस्तो भयो भने ०७४ को समानुपातिक परिणामको मत ३ लाख १३ हजार ९ सय ८७ (तीनै वटाको जोड्दा) एकातिर हुन्छ । त्यो भनेको ०७४ को १३ लाख ३८ हजार २ सय ८८ जनमत एकातिर हुनु हो । र, प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेस नेकपासँग मिल्ने कुरा हुँदैन । त्यस्तो अवस्थामा ‘सानातिना’ भनिने दलहरूको १३ लाख ३८ हजार २ सय ८८ जनमतसँग ३१ लाख २८ हजार ३ सय ८९ जनमतप्राप्त नेपाली कांग्रेस मिसिँदा नेकपा कुन हालतमा पुग्छ ? विपक्षीहरू एक ठाउँमा हुँदा ४४ लाख ६६ हजार ६ सय ७७ जनमतले नेकपालाई एक्लै थिच्यो भने के हुन्छ ?

नेकपा नेताहरूले समीक्षा गर्नुपर्ने मुख्य विषय हो अहिले सरकारप्रति ०७४ को जनमतमध्ये कम्तिमा ५० प्रतिशत क्षति भइसकेको छ । स्वाभाविक हो, राजनीतिमा एउटा दल वा शक्तिप्रतिको वितृष्णाका कारण जनता अर्को शक्तिलाई उत्थान गर्न तल्लिन हुन्छन् । जस्तो कि, ०६४ को सबभन्दा ठूलो दल माओवादी ०७० मा तेस्रो बन्यो । ऊ जनअपेक्षामुताविक खरो उत्रन सकेन, यसर्थ जनताले ०७० मा कांग्रेसलाई रोजे । कांग्रेसले पनि जनताको मत जित्न नसक्दा वाम गठबन्धन सबभन्दा ठूलो शक्तिका रूपमा उदय भयो । तर, हठपूर्ण कार्यशैली, आफ्नै दलप्रति चर्का आश्वासन, असहिष्णु र अनुत्तरदायी व्यवहार, कर, महंगी र खरिद–बिक्रिका मनोमानीपूर्ण क्रियाकलापको कारण जनतामा सरकारप्रति वितृष्णा उत्पन्न भएको छ । त्यसमाथि एकीकृत पार्टीभित्र एकताको लय, सुर र ताल आउन सकेको छैन । सरकार निरन्तर अलोकप्रिय हुनु, दल सांगठानिक गतिविधिबाट पूर्णतः बाहिर रहनु नेकपाको सबभन्दा ठूलो क्षति हो । यसको पुर्ताल आउने साढे दुई वर्षमा सम्भव नै भएछ भने पनि पुरानो जनमत जस्ताको तस्तै सुरक्षित हुने ग्यारेण्टी छैन ।

त्यसैले नेकपाले आउने चुनावसम्म आफ्नो दलीय स्फूर्ति बढाउँदै नेमकिपा, राजमो, मोहन बैद्य, सीपी मैनाली, विप्लवजस्ता वामशक्तिलाई आफ्नो छातामुनी ल्यायो भने प्रत्येक जिल्लामा हजारदेखि पाँच हजारसम्म मत बढाउँछ । कतिपय साना वाम पार्टीका सुदृढ जिल्लामा एकछत्र उपस्थिति देखाउन सक्छ । ती दलबाट प्राप्त हुने मत सबै जिल्लाका हकमा जित्नलाई काफी नहुन सक्छन् । तर, संसदीय चुनावमा ‘टपअप भोट’ को महत्व ठूलो हुन्छ । जस्तो कि, २–४ सय वा हजार मतको अभावमा हार्नुपर्ने खतराबाट पार्टीले मुक्ति पाउने सम्भावना रहन्छ ।

मानौँ, मधेसमा मधेसवादीसँगै कांग्रेसहरू मिले, अनुमान गरौँ, नेकपा कहाँ पुग्छ ? त्यसमाथि राप्रपा र राजावादीले पनि तालमेल गरे भने के हुन्छ ?
अहिले नेकपाका नेताहरू यस्तोखाले संसदीय राजनीति बुझेर पनि लफडा गरिरहेका छन् । जबर्जस्ती होइन, वैधानिक प्रक्रियाबाट मात्रै प्रधानमन्त्रीलाई हटाउनुपर्छ । प्रधानमन्त्रीले पनि पार्टीभन्दा मैमाथि भनेर निर्वाचित तानाशाहको दम्भ देखाउनु हँुदैन । नेकपा सकिने भएपछि सिध्याउने सामथ्र्य राख्ने पक्षसँग भारत पनि मिल्छ । त्यसो गर्दा उताबाट खर्च–पानी आउँछ । त्यसमाथि भारतले पूर्वराजालाई स्पेश दिने भन्छ । किनभने, अहिले कमल थापासँग भन्दा राजातिर मान्छेहरू बढी छन् ।

नेकपाका नेताहरूले अर्कोचोटि चुनाव जित्ने हो भने यो परिस्थितिको व्याकड्रपमा आफ्नो मजबुति हेरे हुन्छ । नेताहरू यस्तो काममा लागेका छैनन्, आँखामा पट्टी बाँधेर आफैँ–आफैँ लडाइँ गरिरहेका छन् ।

 

 

सिकेको संकट
मधेसको राजनीतिमा सिके राउतको उदयले केही नयाँ सम्भावनाको संकेत गरेको थियो । तर, पछिल्लो गतिविधिले उनीप्रतिको भरोशामा संकट आएको पाइन्छ ।
सिके शुरुमा तराईका युवाहरूलाई लिएर अगाडि बढे । अनुमान थियो, केही भोटमा प्रभाव पार्छन् । तर, पछिल्लो समय पार्टी गठन गरेपछि कुनै प्रभाव देखाउन सकेका छैनन् । किनभने, उनीसँग जोडिएका अतिवादी युवाहरू पनि सिके–अरुजस्तै भएपछि चुप लागेका छन् । नवलपरासीमा सबभन्दा ठूलो प्रदर्शन गरेका सिकेले अहिले त्यही ठाउँमा त्यत्तिकै ठूलो क्षति व्यहोरेका छन् ।

अनि, उनको नीतिमा चुनावी राजनीतिमा पोख्न कहलिने कोही पनि जोडिएनन् । त्यसैले अब मधेसमा मधेसवादीले सबैलाई समेटे भने सबभन्दा बढी भोट क्याप्चर हुन्छ ।

त्यसमाथि मधेसवादीलाई मिलाउन भारतले दुई वर्षदेखि गरेको मेहेनतलाई ओली सरकारको एउटै अध्यादेशरूपी तुरूपले रातारात जोडाइदिएको छ । र, अब त्यो एकताबाट नेकपालाई नोक्सान हुन्छ । अनुमान गर्न सकिन्छ, यही स्थिति अर्को दुई वर्षसम्म रहने हो भने मधेसको करिव ५० सीट मधेसवादीकै पकेटमा जान्छ जुन नेकपाका लागि ठूलो नोक्सानी हो ।

किनभने, पहाडमा कांग्रेसले, मधेसमा मधेसवादीले जनमतलाई प्रभावित पार्दै छन् । उनीहरू अहिलेदेखि नै हिसाब गरेर चल्ने भइसकेका छन् । तर, नेकपा के गर्दैछ ? सुनेर जनता दिक्दार छन् । जन आस्था बाट