अमेरिकाले ब्रिटेन, फ्रान्स,भारतको अर्थव्यवस्था भन्दा बढी कोरोना राहत वितरण गर्‍यो

साउन २० । अमेरिकालाई विश्वको महाशक्ति राष्ट्र यसै भनिएको होइन । जसको अर्थव्यवस्था करिब २१ ट्रिलियन डलर बराबरको छ ।

र उसले हालको कोरोना महामारीका समयमा ३ ट्रिलियन डलर त ढुकुटीबाट निकालेर राहत प्याकेजकै लागि वितरण नै गरिसकेको छ । जुन विश्वको विशाल जनसंख्या भएको भारतको पूरै अर्थव्यवस्थाभन्दा बढी हो ।

 

 

अमेरिकाले बाँढेको राहतको आकार त कुनै बेला विश्व आफ्नो कब्जामा राखेको ब्रिटेनको भन्दा बढी मात्र होइन फ्रान्सको अर्थव्यवस्थाले पनि उक्त राहत प्याकेजलाई छुन सकेको छैन ।

अझ उक्त राहतले नपुगेको भन्दै अमरीकी अर्थ मन्त्रालयले कोरोना भाइरसबाट अर्थव्यवस्थामा परेको दुष्प्रभाव कम गर्नका लागि थप ९४७ अरब डलर ऋण लिने योजना बनाएको छ ।

तर कोरोनाका कारण बेरोजगार भएका लाखौं अमरिकीलाई दिने कोरोना भाइरस राहत विधेयकका बारेमा भने रिपब्लिकन्स र डेमोक्रेट्सबीच सहमति जुट्न सकिरहेको छैन ।

 

 

जबकी बेरोजगारहरुलाई राहत दिने समय सीमा कटिसकेको छ । अमेरिकी अर्थ मन्त्रालयले यसका लागि अरु एक ट्रिलियन डलर आवश्यक परेको जनाएको छ ।

अर्थव्यवस्थाकै कुरा गर्दा पहिलो नम्बरमा रहको अमेरिकाको २०.४९ ट्रिलियन डलर, दोस्रो नम्बरमा रहेको चीनको १३.६१ ट्रिलियन डलर तथा तेस्रो स्थानमा रहेको जापानको ४.९७ ट्रिलियन डलर रहेको छ ।

 

 

चौथो नम्बरमा रहेको जर्मनीको ३.९९ ट्रिलियन डलर, पाँचौ नम्बरमा रहेको ब्रिटेनको २.८४, छैठौं नम्बरमा रहेको फ्रान्सको २.७८ ट्रिलियन डलर तथा सातौं नम्बरमा रहेको भारतको २.७३ ट्रिलियन डलर रहेको जनाइएको छ ।

अर्थव्यवस्थाको आकारलाई कूल गार्हस्थ उत्पादन भनेर बुझ्ने गरिन्छ । जबकी नेपालको जीडीपीको कुरा गर्ने हो भने करिब ३० अर्ब डलरको हारहारी रहेको मानिन्छ ।एजेन्सी