बेलायतमा नयाँ कारको विक्री बढ्यो

साउन २१, लन्डन (बेलायत) । बेलायतमा नयाँ कारको विक्री बढेको छ । कोरोना भाइरसको महामारी फैलिन नदिन लगाइएका उपायहरु खुकुलो भएसँगै देशभर रहेका कार शोरुमहरु यस वर्ष पहिलो पटक पूरा महीना खुलेपछि विक्री बढेको हो ।

जुलाईमा बेलायतमा १ लाख ७४ हजार ८८७ कार विक्री भएको बेलायती मोटर उत्पादक तथा व्यापारीहरुको समाज (एसएमएमटी)को तथ्यांकले देखाएको छ ।

 

 

विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ३ प्रतिशत धेरै हो । यसले मार्च र अप्रिलमा ऐतिहासिक कमी बेहोरेको अर्थतन्त्रमा क्रमिक सुधार आएको थप प्रमाण दिएको छ ।

बेलायतमा घरको मूल्य र उत्पादन बढेको हालै सार्वजनिक भएको तथ्यांकले देखाएको छ । यो प्रवृत्ति दीर्घकालीन हो कि होइन भन्ने कुरा सेप्टेम्बरको अन्त्यसम्ममा स्पष्ट हुने एसएमएमटीका प्रमुख कार्यकारी माइक हवेसले बताए ।

 

 

गत महीना कारको विक्रीमा भएको यो वृद्धि डिसेम्बर यताको पहिलो पटक हो । यद्यपि, यस वर्षको अहिलेसम्मको अवधिमा विक्री ४० प्रतिशतभन्दा धेरैले घटेको छ । सन् २०२० मा बेलायतमा कारको विक्री करीब ३० प्रतिशतले घट्ने एसएमएमटीको प्रक्षेपण छ । एजेन्सी