यूरोजोनको व्यवसायिक गतिविधि बढ्यो

साउन २१, लन्डन (बेलायत) । यूरोजोनको व्यवसायिक गतिविधिमा उच्च वृद्धि भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको केही प्रतिबन्धहरु हटेपछि जुलाईमा व्यवसायिक गतिविधि बढेको हो ।

बुधवार आईएचएस मार्किटले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार जुलाईमा यूरोजोनको कम्पोजिट पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) ५४ दशमलव ९ अंक रहेको छ । सो अवधिमा सूचक ५४ दशमलव ८ अंक रहने अनुमान गरिएको थियो । जुनमा सूचक ४८ दशमलव ५ अंक थियो ।

 

 

महामारीका कारण अघिल्ला चार महीनामा भने सूचक कुनै पनि आर्थिक क्षेत्रको गतिविधिलाई वृद्धि र संकुचनको स्तरबाट अलग राख्ने ५० अंक भन्दा तल थियो । ‘यूरोजोनको सेवा क्षेत्रको व्यवसायिक गतिविधिमा जुलाइमा २ वर्षयता नदेखिएको दरमा सुधार आएको थियो,’ आईएचएस मार्किटका प्रमुख अर्थशास्त्री क्रिम विलियमसनले बताए । सो अवधिमा फ्रान्स र जर्मनीको गतिविधिमा उच्च वृद्धि देखिएको छ । स्पेन र इटलीमा पनि राम्रै वृद्धि भएको उनको भनाइ छ ।

 

 

समग्रमा माग बढेको छ र मनोबलमा पनि सुधार आएको छ । तर पनि कम्पनीहरुले कर्मचारी भने कटौती गरेका छन् । जुनमा ४३ दशमलव २ अंक रहेको रोजगारी सूचक जुलाईमा केही सुध्रिएर ४६ दशमलव ५ अंकमा आएको छ ।

प्रतिबन्धहरु खुकुलो बनेसँगै मानिसहरु बार र रेष्टुराँहरुमा जान थालेसँगै सेवा क्षेत्रको पीएमआई अघिल्लो महीनाको ४८ दशमलव ३ अंकबाट बढेर जुलाईमा ५४ दशमलव ७ अंकमा पुगेको थियो ।

 

 

यो सन् २०१८ को सेप्टेम्बरयताकै उच्च हो । वर्षको आगामी अवधिको लागि पनि पीएमआई सकारात्मक रहेको छ । आर्थिक पुनर्बहाली दिगो हुन्छ कि हुँदैन भन्ने कुरा संक्रमितको संख्या निर्धारण गर्ने विलियमसनको भनाइ छ ।

हालैका दिनमा संक्रमतिको संख्यामा भएको वृद्धिले यात्रा, पयर्टन र आतिथ्य लगायत सेवा क्षेत्रको कयौं हिस्सामा जोखिम उत्पन्न भएको बताइएको छ । एजेन्सी