नयाँ कीर्तिमानी उचाईमा पुग्यो सुनको भाउ

साउन २१, न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा सुनको भाउले नयाँ कीर्तिमानी उचाई छोएको छ । लगानीकर्ताहरुमाझ सुरक्षित लगानीको रुपमा लिइने सम्पत्ति (सेफ हेभन एसेट)को माग बढेसँगै सुनको भाउ बढेको हो ।

कमजोर अमेरिकी डलर र अमेरिकी ऋणपत्रको प्रतिफलमा आएको कमीका कारण पनि सुनको भाउले टेवा पाएको हो । कोरोना भाइरसको महामारीबीच शेयर बजार त्रस्त रहँदा यस वर्षको अहिलेसम्मको अवधिमा सुनको भाउ करीब ३५ प्रतिशतले बढिसकेको छ ।

 

 

महामारीको मारमा परेको अर्थतन्त्रलाई टेवा दिन ल्याइएका स्टिमुलस कार्यक्रमहरुले मुद्रास्फीति बढाउने, अन्य सम्पत्तिको मूल्य घटाउने र ऋणपत्रको प्रतिफल ऐतिहासिक न्यून स्तरमा राख्ने हो कि भन्ने भय लगानीकर्तामा बढेको छ ।

यी सबै कारणले सुनप्रतिको आकर्षण बढाएको छ । सुनको भाउ मंगलवार पहिलो पटक प्रतिऔंस २ हजार डलरमाथि पुगेको थियो । बुधवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहानी कारोबारदेखि नै सुनको भाउ उकालो लाग्न थालेको थियो ।

 

 

मध्याहन्नपछिको कारोबारमा सुनको भाउ २ हजार ५१ डलर ४० सेन्टको उच्च विन्दुसम्म पुग्यो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार राति ८ः२२ बजे कोमेक्समा स्पट गोेल्डको भाउ प्रतिऔंस १ दशमलव ४२ प्रतिशतले बढेर २ हजार ६१ डलर ३२ सेन्ट कायम भयो ।

सोही समयमा यूएस गोल्ड फयूचर्सको भाउ पनि १ दशमलव ७२ प्रतिशतले बढेर २ हजार २१ डलरमा किनबेच भइरहेको थियो । बजारमा स्पष्ट रुपमा देख्न सकिने भय भएको स्वतन्त्र विश्लेषक रोस नम्र्यानले बताए ।

 

 

बृहत अर्थतन्त्रमा अर्थपूर्ण पुनर्बहालीको संकेत नदेख्दा चिन्ता बढेको र यसले सुनको भाउलाई टेवा दिएको उनी बताउँछन् । बुधवारको कारोबारमा चाँदीको भाउ पनि ४ दशमलव २ प्रतिशतले बढेर प्रतिऔंस २७ डलर १० सेन्टमा पुगेको थियो । यो सन् २०१३ यताकै उच्च हो । यस वर्षको अहिलेसम्मको अवधिमा सुनको भाउ ५१ प्रतिशतभन्दा धेरैले बढेको छ । वृद्धिको मामिलामा चाँदीले सुनलाई पनि उछिनेको छ ।

यस वर्षको शुरुमा शून्य दशमलव १५ प्रतिशत रहेको अमेरिकी १० वर्षे ऋणपत्रको प्रतिफल पछिल्लो समय घटेर ऋणात्मक १ प्रतिशतभन्दा तल आएको छ । डलरको भाउ पनि कयौं वर्षकै उच्च विन्दुबाट घटेको छ ।

आगामी महीना सुनको भाउ ३ हजार डलरमा पुग्ने विश्लेषकहरुले बताइरहेका छन् । बुधवारको कारोबार प्लाटिनम र पालाडियमको भाउ पनि बढेको थियो । एजेन्सी