प्रहरीसहित स्थानीमा संक्रमण देखिएसँगै काठमाडौंको ‘कोटाल टोल’ सिल

साउन २४, काठमाडौं । काठमाडौं महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रलाई शनिवार सिल गरिएको छ ।

महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना संक्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ ।

 

 

केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखिएको थियो ।

समुदायमा रहेका २५ जनाको परीक्षणमा अन्य थप ६ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनले बताए ।

डङ्गोलले आफ्नो नेतृत्वमा रहको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकबाट थप आवश्यक निर्णय गरिने जानकारी दिए । सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौंको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको उनले बताए ।

 

 

पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा छ । शुक्रवार मात्रै उपत्यकामा १०० भन्दाबढीमा कोरोना भाइरस संक्रमण भएको थियो । संक्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने संक्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ ।

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतवारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । काठमाडौं उपत्यकामा अहिलेसम्म झण्डै एक हजार व्यक्तिमा कोरोना संक्रमण देखिइसकेको छ । सय भन्दाबढी स्थानमा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिइएको छ । रासस