कोरोना महामारीपछि यूएईबाट साढे १३ हजार नेपाली स्वदेश फर्किए

साउन २८, काठमाडौं । कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महीनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्किएका छन् ।

जुन महीनादेखि मंगलवारसम्म विभिन्न ८२ ओटा चार्टर उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

 

 

सोही उडानहरु मार्फत विभिन्न कारणबाट युएईमा ज्यान गुमाएका २६ नेपालीको शव नेपाल फर्काइएको छ । पछिल्लो पाँच महीनामा यूएईमा विभिन्न कारणबाट ११० नेपालीले ज्यान गुमाएका छन् ।

तीमध्ये चारओटा शव नेपाल पठाउने क्रममा रहेको, ६९ ओटा शवको यूएईमै अन्त्येष्टि गरिएको र ११ ओटा शवको विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको छ ।

दूतावासले नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको विवरण संकलन गर्न गत वैशाख १६ गतेदेखि अनलाइन रजिष्ट्रेसन फारम खुलाएको थियो । उक्त रजिष्ट्रेसन फारम भर्नेको संख्या हालसम्म ४२ हजार पुगेकोे छ ।

 

 

यसका अतिरिक्त इमेल र टेलिफोनमार्फत नेपाल फर्कन नाम टिपाउनेको संख्या पनि करीब पाँच हजारको हाराहारीमा रहेको दूतावासले जानकारी दिएको छ ।

नेपाल फर्कन नाम टिपाएकामध्ये सरकारले तोकेको प्राथमिकता क्रमका आधारमा गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएकालगायत नागरिकलाई स्वदेश फर्काउने क्रम जारी रहेको दूतावासले जानकारी दिएको छ ।

हालसम्म विश्वका विभिन्न मुलुकबाट झण्डै ५० हजार नेपाली चार्टर उडानमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापक केन्द्र (सीसीएमसी) का अनुसार कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका बीच मंगलवारसम्म ५० हजार १३० नागरिकको उद्धार गरिएको छ ।

त्यसरी उद्धार गरिएकामध्ये सबैभन्दा बढी यूएईबाट रहेका छन् । साउदी अरेबियाबाट सात हजार ८१७, मलेसियाबाट सात हजार ६०६, कतारबाट पाँच हजार ३२३, अष्ट्रेलियाबाट एक हजार ७८, जापानबाट एक हजार २३, दक्षिण कोरियाबाट ७२० र संयुक्त राज्य अमेरिकाबाट ५९१ जनाको उद्धार गरिएको छ । रासस