६७ प्रतिशत घट्यो एयरबीएनबीको आम्दानी

साउन २९, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन रेन्टल कम्पनी एयरबीएनबीको आम्दानी ह्वात्तै घटेको छ । कोरोना भाइरसको महामारीबीच विश्वभर यात्रा र घुमघाममा कडाइ गरिएसँगै यस वर्षको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी घटेको हो ।

जुन ३० मा सकिएको त्रैमासमा कम्पनीको आम्दानी ३३ करोड ५० लाख डलर रहेको नाम नबताउने शर्तमा यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै ब्लुम्बर्गले समाचार छापेको छ ।

 

 

यो गत वर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशत कम हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी १ अर्ब डलरभन्दा धेरै थियो । पहिलो त्रैमासमा कम्पनीको आम्दानी ८४ करोड २० लाख डलर थियो । पछिल्लो तथ्यांकले महामारीले विश्वको यात्रा बजारमा पारेको प्रभावको स्तर स्पष्ट पारेको छ ।

दोस्रो त्रैमासमा कर पूर्वको घाटा ४० करोड रहेको बताइएको छ । पहिलो त्रैमासमा कम्पनीको घाटा ३४ करोड १० लाख डलर थियो । तर हालैका महीनामा भने कम्पनीको बुकिङमा केही सुधार देखिएको बताइएको छ । गत वर्षको सोही अवधिको तुलनामा मेमा ७० प्रतिशतले घटेको बुकिङमा जुनमा ३० प्रतिशतले मात्रै घटेको थियो ।

 

 

महामारीले व्यवसाय प्रभावित भएको भएपनि कम्पनीले अमेरिकी शेयर बजारमा प्राथमिक शेयर निष्कासन (आईपीओ)को योजना भने यथावत राखेको छ ।

स्रोतका अनुसार एयरबीएनबीले अगष्टमा आईपीओका लागि अमेरिकाको शेयर नियामक ‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशन’ (सेक)मा गोप्य रुपमा आवेदन दिएको छ । यस वर्षको अन्त्यअघि पब्लिक बन्ने तयारीमा कम्पनी रहेको स्रोतको भनाइ छ । एजेन्सी