अमेरिकाले हिन्द महासागरमा पठायो परमाणु बम हान्नसक्ने तीन वटा विमान

चीनसँग तनाव बढिरहँदा अमेरिकाले आणविक बम प्रहार गर्न सक्ने तीन वटा बमवर्षक विमान हिन्द महासागरमा तैनाथ गरेको छ।

मालदिभ्सबाट १२ सय किलोमिटर टाढा रहेको हिन्द महासागस्थित डिएगो गार्सिया टापुमा बी–२ ए वमवर्षक विमान अमेरिकाले पठाएको हो। ती विमान मंगलबार मिजोरीस्थित ह्वाइटम्यान हवाई अड्डाबाट हिन्द महासागरतर्फ उडेका छन्।

 

 

सन् २०१६ पछि पहिलो पटक त्यहाँ बी–२ बमवर्षक विमान अमेरिकाले पठाएको हो। अमेरिकाको यो कदम सैन्य शक्तिको प्रदर्शन भएको विज्ञहरुले बताएका छन्। बी–२ बमवर्षक विमान विश्वकै सबैभन्दा अत्याधुनिक स्टिल्थ बमवर्षक विमान हो।

 

यो संसारको सबैभन्दा महंगो विमान मानिन्छ। एउटा बी–२ बमवर्षकको मूल्य २ अर्ब डलरभन्दा बढी पर्ने बताइन्छ।

आणविक र गैरआणविक दुवैखाले हतियार बोक्न सक्ने यो विमान अमेरिकी सेनाको सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक हो। मिजोरीमा रहेको अमेरिकी सेनाको ह्वाइटम्यान अखडामा २० वटा यस्ता विमान परिचालित छन्।

 

 

पछिल्लो समय अमेरिका र चीनबीच तनाव बढिरहेको छ। केही सातायता चिनियाँ सेनाले युद्धअभ्यासको क्रमलाई व्यापक मात्रामा बढाएको छ।

आगामी सोमबारदेखि नै ताइवाननजिक झुसान टापुमा चिनियाँ सेनाले दुई दिने सैन्य अभ्यास सुरु गर्दैछ। एससीएमपी