नयाँ उचाईमा पुग्यो अमेरिकी बजेट घाटा

साउन २९, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाको बजेट घाटाले नयाँ उचाई छोएको छ । यस वर्षको पहिलो १० महीनामा बजेट घाटा २८ खर्ब १० अर्ब डलर पुगेको छ । आर्थिक वर्षको पहिलो १० महीनामा यस अघि बजेट घाटा कहिले पनि यो स्तरमा पुगेको थिएन ।

 

 

सप्टेम्बर ३० मा चालू आर्थिक वर्ष समाप्त हुँदा घाटा अहिलेसम्मकै ठूलो वार्षिक घाटाको दोब्बरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । विश्वव्यापी वित्तीय संकटको बेलामा २००९ मा संघीय सरकारको बजेट घाटा १४ खर्ब डलरको कीर्तिमानी उचाईमा पुगेको थियो ।

तर महामारीको चपेटामा आएको अर्थतन्त्रलाई टेवा दिन ल्याइएको व्यापक स्टिमुलस कार्यक्रमका कारण चालू आवमा बजेट घाटा ३७ खर्ब डलर पुग्ने कंग्रेशको बजेट कार्यालय (सीबीओ)को प्रक्षेपण छ ।

 

 

जुलाईमा संघीय सरकारको घाटा ६३ अर्ब डलर रहेको अर्थ मन्त्रालयले बताएको छ । यो जुनका तुलनामा भने निकै कम हो । जुनमा सरकारको घाटा ८ खर्ब ६४ अबृ डलर थियो । जुलाईमा कर आम्दानीमा भएको वृद्धिका कारण घाटा कम भएको हो । एजेन्सी