कमल पोखरी

कृष्ण द्धा

कमल पोखरी 

शान्त कुनो,
शान्त ठाउँ ।
झिनो बस्ती,
सानो गाउँ ।
हिउँदे आहाल,
बर्षे ताल-
मेरो प्यारो,
बुडूवा ताल ।
हिउँदमास समेटिन्छे,
बर्षादमा त –
छेक्न सके छेक; कान्छो !
छेक्न सके छेक, भन्छे ।
कस्ले न्वारान गरे,
खै, कुन्नी ?
सुन्दर नाम-
‘कमलपोखरी’बिरहमै छे,
जुगा, सिम्काँडा भरिएका
लट्टाजट्टा परेका केश
जयकोट/काहूँको कुनामा
बहूलट्ठी मान्छे जस्तै,
धुम्धूम्ती छे एकान्तमा,
मेरी पियारी,
कमलपोखरी ।
नीरस जीवन,
हिलाम्मे रहरहरू,
‘पादे’ बौली सरी
फेरिपनि-
उन्मादित हुन्छे,
बर्षमा एकफेर
मेरी पियारी
कमलपोखरी
बर्षभरि सुस्केराउँछे,
अलिदिन मुस्कुराउँछे,
नागपञ्चमी
साह्रै मनाउँछे ।
मानौ,
तिन्कै जन्मदिन हो !
बबूराहरू समेटेर,
सेताम्मे फुलेका कमल
उखेल्न पनि दिन्छे रे !
मान्छन् अनि-
भन्छन् पनि,
पाप पनि पखाल्छिन् रे ।
बर्षभरि,
दशामा पेलिएकाहरू
दुईदिन दशैँ मनाउंछन्,
मेरी पियारीको
जन्मदिनमा-
भट्टी त रन्किन्छ नै
कतै चुल्हो पनि दन्किन्छ ।
एकान्तमा-
सुस्केरा हाल्छे,
सुनिदिनेको ?
कोलाहलमा-
सुस्केराउँछेः
सुनिदिनेको ?
मनले मनलाई बुझ्छ नी !
फेरि शान्त बस्छे,
मेरी पियारी
कमलपोखरी ।
कपालभरिका
जुगाका कुँडूलो
सिम्काँडाले कोर्दै
चुपचाप बस्छे,
पुनः
बर्थ डे कुरेर ।
नौ महिना सुस्केराउँछे
तीन महिना मुस्कुराउँछे
मेरी पियारी
कमलपोखरी ।

कृष्ण द्धा

पाेखरा १३ हाल टेक्सास अमेरिका