नेपालमा लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि खोल्ने सरकारको निर्णय

भदौ ३०, काठमाडौं । लामोदूरीका सार्वजनिक यातायात र हवाइ उडान असोज १ गतेदेखि नै सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात शुुरु गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउने छन् । उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनु पर्नेछ ।

त्यस्तै, व्यवसायीले सरकारले तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशत बढीसम्म भाडा लिन पाउने भएका छन् ।

त्यस्तै, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवालीलाई तोक्ने निर्णय गरेको छ । सोहीअनुसार पूर्व अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार तोक्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । खतिवडाको सेवा सुविधा मन्त्रीले पाउने सरह हुने प्रवक्ता ज्ञवालीले बताए ।