अनलाइन कम्पनीका रुपमा पुनः खुल्यो थोमस कूक

भदौ ३१, लन्डन (बेलायत) । बेलायती ट्राभल कम्पनी थोमस कुक पुनः शुरु भएको छ । कम्पनीको मालिक चिनियाँ व्यापारिक समूह फोसुनले बुधवार बेलायतमा अनलाइन कम्पनीको रुपमा मात्रै थोमस कूक ब्राण्डलाई ब्यूताएको हो ।

कोरोना भाइरसको महामारीका कारण यात्रा उद्योग ठप्प भएकै बेलामा कम्पनी पुनः शुरु भएको छ । कम्पनी सञ्चालकहरुले १ अर्ब १० करोड पाउन्ड स्टर्लिङको वित्तीय प्याकेज पाउन नसकेपछि गत वर्षको सेप्टेम्बरमा कम्पनी टाट पल्टिएपछि फोसुनले १ करोड १० लाख पाउन्ड स्टर्लिङमा थोमस कूक ब्राण्ड किनेको थियो ।

 

 

अनलाइन ब्राण्डमा फोसुनले अतिरिक्त ६० लाख पाउन्ड खर्च गर्ने छ । बुधवारदेखि ५० कर्मचारीका साथमा अनलाइन कम्पनी शुरु भएको छ । कम्पनी टाट पल्टिनु अघि भने यसमा २१ हजार कर्मचारी थिए ।

नयाँ कम्पनीको वरिष्ठ व्यवस्थापन समूहमा धेरैजसो पूर्व कम्पनीकै कर्मचारी छन् । पुरानो कम्पनीको आफ्नै विमान, होटल थियो । तर नयाँ कम्पनीसँग केही छैन । यसले अधिकांश उडानका लागि शुरुमा इजीजेट प्रयोग गर्नेछ ।

 

 

प्रारम्भिक रुपमा यसले इटली, ग्रिस र टर्कीतर्फको यात्रालाई प्राथमिकता दिनेछ । बेलायतमा हासिल भयो भने कम्पनीले बेल्जियम र नेदरल्याण्डमा पनि सेवा विस्तार गर्नेछ । जुलाईमा फोसुनले चिनियाँहरुलाई घरेलु यात्रा सेवा बेच्न चीनमा थोमस कूक एप लञ्च गरेको थियो । एजेन्सी