विश्वमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम तीव्र : पछिल्लो १ सातामा २० लाख संक्रमित थपिए

असोज ६, जेनेभा । कोरोना भाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । पछिल्लो एक सातको अवधिमा झन्डै २० लाख व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको उक्त संगठनले जानकारी दिएको छ ।

 

 

डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार सेप्टेम्बर १३ देखि २० सम्ममा १९ लाख ९८ हजार ८९७ जना संक्रमित थपिएका छन् ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका अनुसार यो एक हप्ताको अवधिमा विश्वभर संक्रमितको संख्या ६ प्रतिशतले बढेको छ र यो महामारी शुरु भएदेखिकै उच्च संक्रमण दर हो ।

 

 

विश्वमा मंगलवारसम्म कोरोना बाट तीन करोड १५ लाखभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या नौ लाख ६९ हजार ७०० भन्दा बढी पुगेको डब्लुएचओले बताएको छ ।

पछिल्लो तथ्यांक अनुसार भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका हो । अमेरिकामा ७० लाख ४६ हजार २१६ जना संक्रमित रहेका छ भने दोस्रो धेरै संक्रमित भएको मुलुक भारतमा ५५ लाख ६२ हजारभन्दा बढी संक्रमित रहेका छन् । रासस