अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

जेसन डिरेन,
न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त रहेका छन् । विगत ६ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ ।

 

विशेषज्ञ सल्लाह अनुसरण गरेको भए नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट हुने क्षति कम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । राष्ट्रपति ट्रम्प र उनका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्याँकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्ने प्रयास गरेका छन् ।

गत हप्ता मात्र, राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा.रोबर्ट रेडफिल्डलाई “भ्रमित” व्यक्तिको संज्ञा दिए । किनकि रेडफिल्डले सन् २०२१ को अन्त्यतिर मात्र कोरोनाभाइरस विरुद्धको खोप निर्माण हुने बताएका थिए । कुनै प्रमाण बेगर नै ट्रम्पले आगामी नोभेम्बर ३ को चुनाव अघि नै खोप तयार हुने दाबी गरेका थिए ।

 

खोपका लागि ट्रम्पको छटपटीले विज्ञान वा खोप निर्माण प्रक्रियालाई असर गरेको छ भन्ने कुनै संकेत भने देखिएको छैन, तर चुनावअघि खोप निर्माण हुन सके चुनावलाई आफ्नो पक्षमा पार्न सकिने उनमा अटल विश्वास छ ।

ट्रम्प र विज्ञानबीचको द्वन्द्व कोभिड–१९ फैलिन थालेदेखि नै निरन्तर जारी छ । जनवरीको आखिरमा चीनको वुहानमा पहिलो पटक भाइरस देखा परिसकेपछि सिडिसीले आपतकालीन केन्द्रको थालनी गरेको थियो । इपिडेमियोलोजी (संक्रामक रोग विशेषज्ञ) विज्ञहरुले यो रोगलाई नियन्त्रणमा ल्याउन र फैलिन नदिन तत्कालै आक्रामक जनचेतना र सम्पर्क पहिचान (कन्टाक्ट ट्रेसिङ) आवश्यक रहेको बताएका थिए ।

यसको सट्टा, ट्रम्पले पहिलो महत्वपूर्ण हप्ताहरुमा सार्वजनिक रूपमै भाइरस केही होइन भन्दै हल्काफुल्का टिप्पणी गरे । यद्यपि उनले आफ्ना भित्री सहयोगीलाई भाइरस निकै खतरापूर्ण रहेको स्वीकारेका थिए । राष्ट्रपतिले पत्रकार बब वुडवर्डलाई मार्चमा भनेका थिए, “यो मामुली भाइरस हो, यसलाई सहजै परास्त गर्न सकिन्छ ।”

 

 

मार्चको मध्यसम्ममा, न्यूयोर्क र अन्य ठाउँका अस्पतालहरू बिरामीहरूले भरिभराउ भए र फ्रिजयुक्त ट्रकमा शवहरू राख्नुपरेको थियो । मार्च ३१ मा, राष्ट्र अझै पनि महामारीको स्वरुप र प्रभाव बुझ्न आतुर थियो । ह्वाइट हाउसको कोरोनाभाइरस प्रतिक्रिया समन्वय केन्द्रका डा.डेबोरा बर्क्स र संक्रामक रोगसम्बन्धी नेशनल इन्स्टिच्युटका निर्देशक डा.एन्थोनी फाउचीले राष्ट्रपति ट्रम्पको छेउमा उभिएर अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनसक्ने व्यक्तिको संख्याबारे अनुमान प्रस्तुत गरे । दुबै चिकित्सकले मुलुकमा मास्क अनिवार्य नगर्ने, सामाजिक दूरी कायम नगर्ने र व्यवसाय बन्द नगर्ने हो भने एक लाखदेखि २ लाख ४० हजारसम्म व्यक्तिको मृत्यु हुनसक्ने जानकारी दिए ।

उनीहरूले यदि संयुक्तराज्य अमेरिकाले कडा कदम चालेमा एक लाखभन्दा कम व्यक्तिको मात्र मृत्यु हुन सक्ने बताएका थिए । त्यसलगत्तै राष्ट्रपति ट्रम्पले भने, “हामीलाई त्योभन्दा अझ कम व्यक्तिको मृत्यु हुने आशा छ ।”

अझै, राष्ट्रव्यापी रुपमै मास्क अनिवार्य गर्नुको साटो ट्रम्प प्रशासनले केही हप्तामा नै “अमेरिका खोलौं” भन्ने अभियान चलायो । सिडिसीले उद्योग, व्यवसाय पुनः खोल्ने निर्णयलाई सहयोग पुर्याउन निकै कडा नयाँ निर्देशिकाहरु तयार गर्यो । तर ह्वाइट हाउसले त्यस निर्देशिकालाई कडा ठान्यो । ह्वाइट हाउसका नीति निर्माताहरुले सिडिसीका वैज्ञानिकहरुप्रति लक्षित गर्दै “दिनको उज्यालो कहिल्यै देख्न नदिनेहरु” भन्दै आलोचना गरे ।

 

 

एसोसिएटेड प्रेसले ६३ पृष्ठको एउटा निर्देशिका तयार गरेको थियो जसले कार्यस्थल, दिवासेवा केन्द्रहरु र रेस्टुरेन्टहरूको लागि विज्ञानमा आधारित सिफारिशहरू गरेको थियो । अनुमान गरिएझैं नतिजा आयोः समुदायहरू फेरि खुलेपछि संक्रमण तिब्र गतिमा वृद्धि भयो र मृतकको संख्या एक लाखमुनि राख्ने आशामा तुषारापात भयो । सिडीसी सिफारिसहरू जारी गर्नुअघि परीक्षणका लागि ह्वाइट हाउस कार्यदलको माध्यमबाट जारी गरिएको थियो ।

रेडफिल्डमाथि अहिले सिडिसीको प्रतिरक्षा गर्न नसकेको भन्दै आलोचना गरिएको छ, र लामो समयदेखि सिडिसीमा काम गरिसकेका व्यक्तिहरुले यसको नेतृत्वले राजनीतिको साटो विज्ञानलाई प्रधान्य दिने आशा गरेका छन् । “मलाई पक्का विश्वास छ कि यो सजिलो छैन, तर यो सिडिसीको प्रतिष्ठाको लागि यो आवश्यक छ,” २० वर्षसम्म सिडिसीमा कार्य गरेकी फ्लोरिडा विश्वविद्यालयकी चिकित्सा विज्ञानकी प्राध्यापक डा.सोन्जा रास्मुसेनले भनिन् । “हामीलाई यो महामारीबाट पार लगाउन एक बलियो र विश्वासयोग्य सिडिसी चाहिएको छ जसले भविष्यमा पनि सार्वजनिक स्वास्थ्य आपतकालबाट जनतालाई सुरक्षित गर्न सकोस् ।”

 

 

फाउचीलाई संचार माध्यमसँगको अन्तक्र्रियामा प्रतिबन्ध लगाएसँगै राष्ट्रपति ट्रम्पले स्ट्यान्फोर्ड विश्वविद्यालयका न्युरोलजिस्ट डा.स्कट एटलसलाई अगाडि सारेका छन् । तर उनलाई संक्रामक रोग र महामारीका बारेमा खासै अनुभव छैन । एटलसले विद्यार्थीहरूलाई मास्क वा सामाजिक दूरी आवश्यकता छैन भन्दै आएका छन् । एटलसले भाइरसबाट मुक्त हुन “हर्ड इम्युनिटी” सिर्जना गर्नुपर्ने बताएका छन् ।

जनसंख्याको ठूलो हिस्सालाई संक्रमित हुन दिएर समुदायव्यापी प्रतिरोधात्मक क्षमताको निर्माण गर्न सकिन्छ भन्ने धारणा नै “हर्ड इम्युनिटी” हो । विश्व स्वास्थ्य संगठनले यो दृष्टिकोणलाई खतरनाक कदम भनी चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका अधिकारीहरूले पछिल्लो समय एटलसले त्यसो नभनेको भन्दै प्रतिरक्षा गरिरहेको छ ।

त्यस्तै, २७ वटा राज्यका कम्तीमा ६० जना राज्यस्तरीय वा स्थानीय स्वास्थ्यकर्मीले अप्रिलयता पदबाट राजीनामा दिइसकेका वा पदबाट हटाइएका छन् । जुन महिनादेखियता यो संख्या दोब्बर भएको छ । धेरै सार्वजनिक अधिकारीहरूको राजनैतिक दबाब वा मास्क लगाउनुपर्ने र बन्दको कार्यान्वयन गर्नुपर्ने आदेशबाट क्रोधित व्यक्तिहरूको हिंसात्मक धम्की पछि पदबाट राजीनामा गरेका छन् । –एपी