सरकारी कामकाज बन्द हुने अवस्था टार्न अमेरिकामा खर्च विधेयक पारित

वाशिङ्टन डीसी (अमेरिका) । सरकारी कामकाज ठप्प हुने अवस्था टार्न अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले खर्च विधेयक पारित गरेको छ । मंगलवार डिसेम्बरसम्म सरकारी कामकाज चलाइराख्न विधेयक बहुमतले पारित गरिएको छ ।

अब विधेयकमा माथिल्लो सदन सिनेटमा मतदान हुनेछ । सिनेटले पनि पारित भयो भने योसँगै सेप्टेम्बर ३० देखि सरकारी कामकाज बन्द हुने स्थिति टर्नेछ । पछिल्लो विधेयकमा विद्यालयका बालबालिका र परिवारलाई पोषण सहायताका लागि ८ अर्ब डलर समेत रहेको बताइएको छ ।

विधेयकले डिसेम्बर ११ सम्म सरकारी कामकाज चलाउनेछ । कोरोना भाइरसको महामारीबीच थप राहत वितरणमा केन्द्रित हुन बन्द हुने अवस्था आउन नदिन खोजिएको नीतिनिर्माताहरूले बताएका छन् । एजेन्सी