क्यानाडा कोभिड-१९ संक्रमणको दोस्रो चरणमा प्रवेश

क्युबेक (क्यानाडा) । क्यानाडा कोभिड-१९ को संक्रमणको दोस्रो चरणमा प्रवेश भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले बुधवार सो कुरा बताएका हुन् ।

उनले बुधवार यहाँको राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा क्यानाडामा पनि यस संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको बताएका छन् ।

उनले यहाँ दोस्रो चरण अर्थात् ‘सेकेन्ड वेब’ शुरु भइसकेको र अब देशमा यसको असर देखिन सक्ने भन्दै यसका लागि आवश्यक सतर्कता अपनाउन सबै देशबासीलाई आग्रह पनि गरेका छन् ।

क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । बीचमा यसको प्रकोप घटेको देखिएको भए पनि पछिल्ला केही हप्ताहरुमा यसका संक्रमित थपिएका छन् ।
यहाँका जनस्वास्थ्य विज्ञहरुले पनि क्यानाडामा दोस्रो चरणको संक्रमण शुरु भएको बताएका छन् ।

अधिकारीहरुले दिएको जानकारीअनुसार गएको हप्तामात्र यहाँ सात हजार ५०० भन्दा बढी संक्रमित देखिएका छन् । रासस/सिन्ह्वा