अमेरिका सरकारमाथि ठूला कार निर्माता कम्पनीले हाले मुद्दा

वाशिङ्टन डीसी (अमेरिका) । ठूला कार निर्माता कम्पनीहरूले अमेरिका सरकारमाथि मुद्दा दायर गरेका छन् ।

 

चीनबाट आयातित पार्ट्समा कर लगाइएको विषयमा कम्पनीहरूले यस्तो कदम चालेका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नेतृत्वको प्रशासनले लगाएको भन्सार महशुलको विरोध गर्नेमा घरेलु विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला पछिल्लो कम्पनी बनेको छ । व्यापार युद्ध चलिरहँदा अमेरिका र चीनले एकअर्काको देशबाट आयातित सामानमा कर लगाएका छन् । न्यूयोर्कस्थित अन्तरराष्ट्रिय व्यापार अदालतमा कारनिर्माताहरूले मुद्दा हालेका समाचार विगत केही दिनयता छापिएका छन् ।

 

आफ्नो फाइलिङमा जर्मन अटो निर्माता कम्पनी मर्सिडिज बेञ्जले चीनबाट आयातित ५ खर्ब डलरभन्दा बढीको वस्तुमा व्यापार युद्धको अभूतपूर्व, असीमित र अपार प्रभाव पारेको अभियोग लगाएको छ । अतिरिक्त महशुललाई टेस्लाले भने फाइलिङमा मनमानी, सन्की र विवेकको दुरुपयोगको संज्ञा दिएको छ । आयात करबापत बुझाइएको अतिरिक्त महशुलको पैसा ब्याजसहित फिर्ता गर्नुपर्ने माग टेस्लाका संस्थापक एलन मस्कको भएको फाइलिङमा भनिएको छ । एजेन्सी