टिकटक माथिको प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

असोज १२, वासिङ्टन । अमेरिकी संघीय एक न्यायाधीशले आइतवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् ।

 

राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिकामा आइतवार रातिदेखि टिकटक डाउनलोड गर्न पाइने छैन । यसअघि अमेरिकी बाणिज्य मन्त्रालयले टिकटक प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनलाई सेप्टेम्बर २७ सम्म स्थगित गर्ने बताएको थियो ।

राष्ट्रपति ट्रम्पले टिकटक खरीद गर्न इच्छुक अमेरिकी कम्पनीहरु ओराकल र वाल्मार्टले टिकटकमाथि पूर्ण नियन्त्रण गर्न पाउनुपर्ने शर्त अघि सारेका थिए । यी दुई अमेरिकी कम्पनीले टिकटकको अमेरिकी व्यवसाय खरीद गर्न टिकटकको आधिकारिक कम्पनी बाइटडान्ससँग सम्झौता गरेका छन् ।

 

गत अगष्ट ६ मा ट्रम्पले अमेरिकी सुरक्षा र अमेरिकी नागरिकको व्यक्तिगत गोपनीयतामा खतरा औंल्याउँदै चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा कारोबार गर्न प्रतिबन्ध लगाउने गरी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले टिकटक र विच्याटजस्ता चिनियाँ कम्पनीहरुले गोप्य अमेरिकी तथ्याँक विवरणहरु चिनियाँ सुरक्षा निकायहरुलाई उपलब्ध गराएको आरोप लगाएका छन् । रासस/ एएनआई