भगवान पनि ….

प्रवीण भट्टराई

(आपत बिपतमा भगवान संझेर भाकल गर्ने, काम पुरा भयो भने भाकल र भगवान बिर्सने र
काम पुरा भएन भने भाका र भगवान पनि बदल्नेहरू प्रति समर्पित)

भगवान पनि ….
——————
मान्छे
मनैबाट भगवान मान्ने होस
वा
अरूका अगाडि पर्दा
भगवान मानेझै गर्ने नै किन नहोस
अनि
आफ्नै लागि भगवान मान्ने हुन
वा
अरूका लागि
भगवान मानिदिने नै किन नहुन
अर्थात आस्तिकहरू पनि
कमजोर मानसिकता भए पछि
आपत बिपतमा परे पछि
भगवानलाई संझन्छन्

आफुले सबै भन्दा बढि मान्ने
भगवानको नाममा भाकल गर्छन

भन्छन् भगवान
मेरो यो काम पुरा भयो भने
म एति लड्डु चढाउँछु
पूजा लाउँछु
बत्ति बाल्छु
साधु सन्तलाई भोजन गराउँछु
मन्दिर बनाउँछु
निखर कालो बोको चढाउँछु
त्रिशुल र घण्टी अर्पण गर्छु
अनि
अरू के के धेरै भाकल
अनि
भाकल पुरा भयो भने
भगवानलाई भुसुक्कै बिर्सन्छन
तेति मात्र कहाँ हो र ?
ईष्ट देउतै परिवर्तन गर्छन
मान्छे
हिजो गणेश मान्ने
आज कालीतिर लाग्छन्
कृष्ण मान्ने शिबतिर
हुँदा हुँदा
आस्तिकको घरमा जन्मेर
जानेर वा नजानी
नास्तिक बनेकाहरू पनि
सबै कुरा बिर्सेर
आपत विपतमा
भगवान भाक्छन्
भाकल गर्छन्
यो काम पुरा भयो भने
प्रभु यो गर्छु उ गर्छु भन्छन्
काम पुरा भयो भने
भाकल पनि बिर्सन्छन्
भगवान पनि बिर्सन्छन
काम पुरा भएन भने
भाका पनि बदल्छन्
भगवान पनि बदल्छन् ।
———————
प्रवीण भट्टराई
श्रीजङ्गा-४, तेल्लोक, ताप्लेजुग ।
हाल: दोहा, कतार ।