केन्द्रदेखि केन्द्रसम्मको यात्रामा शर्मिला

विष्णुप्रसाद पौडेल । न्युयोर्क

काठमाडौं देशको केन्द्र । काठमाडौंको पनि केन्द्र वसन्तपुर । जहाँ छ पृथ्वीनारायण शाहको पालादेखिको ९ तले दरबार । वरिपरि छ घना नेवार बस्ती । त्यही केन्द्रमा, त्यही बस्तीमा शर्मिला शाक्य जन्मिएकी हुन् । जो आज संसारकै केन्द्र अमेरिकामा आफ्नो नाम चम्काइरहेकी छन् । उनी अहिले अमेरिकी विश्वविद्यालयमा प्राध्यापक छिन् । विश्वकै उत्कृष्ट जनशक्तिको ओइरोलाग्ने अमेरिकामा आएर उत्कृष्टहरुकै बीचको प्रतिस्पर्धामा खरो उत्रन सफल शर्मिलाले काठमाडौंमै पनि कुनै निजी बोर्डिङ स्कुल पढेकी भने थिइनन् । उही सामान्य सरकारी स्कुलबाट उनको प्रारम्भिक शिक्षा सुरु भएको हो । घरछेउकै नवआदर्श स्कुलबाट प्रारम्भिक शिक्षा लिएकी उनले त्यहाँ ७ कक्षासम्म पढिन् । ८ कक्षाबाट विश्वनिकेतन स्कुल गइन् । एसएलसीमा उत्कृष्ट अंक ल्याइन्, फस्ट डिभिजनमा पास भइन् र अमृत साइन्स कलेजमा विज्ञान पढिन् । त्रिचन्द्रमा स्नातक तह पढिन् ।

अहिले २ वटा कम्युनिटी कलेज र अर्काे एउटा विश्वविद्यालयमा पढाउँछिन् । प्राध्यापक शर्मिला शाक्य एउटा वजिलो नाम भएको छ । अमेरिकाका कलेज र विश्वविद्यालयहरुमा भएका थोरै संख्याका नेपाली प्राध्यापकमध्ये पर्छिन् शर्मिला । झन् त्यसमा पनि महिला विरलै छन् ।
उनले अमृत साइन्स कलेज र त्रिचन्द्र कलेज अनि त्रिभुवन विश्वविद्यालयमा पढिन् । नेपालका कलेजहरुमा त्यतिबेला पढाइभन्दा धेरै हडताल धेरै हुन्थ्यो । पढाइतिरमात्रै ध्यान दिएका कतिपय विद्यार्थी भारततिर जान्थे । शर्मिलाका साथीहरु पटनातिर गएका थिए । उनीहरु डेन्टल पढ्न पटना गएको देखेर बाबाले उतै पठाउन चाहे । शर्मिला गइन् पनि । तर फर्केर फेरि त्रिचन्द्रबाटै स्नातक गरिन् । मास्टर्सचाहिँ त्रिभुवन विश्वविद्यालयबाटै भयो । शर्मिलाको विषय रसायनशास्त्र हो । मास्टर्स उत्तीर्णमात्रै के गरेकी थिइन् । ‘पद्मकन्यामा यत्तिकै बायोडाटा दिएकी थिएँ,’ उनी सन् १९९५ ताकाका ती दिन सम्झिन्छिन्, ‘टिचिङ अर्बजरभेसनमा बोलाउनुभयो, जब भइहाल्यो । त्यसपछि अस्कलमा पढाएँ । घरमा काम त्यति गर्नुपर्ने थिएन, पढाउनतिरै बिजी भएँ ।’ युनाइटेड एकेडेमीमा प्लसटुलाई पनि पढाइन् ।

२००२ सम्मै काठमाडौंमा पढाएकी थिइन् शर्मिलाले । ‘दौडाडौड गरेरै पढाइयो,’ उनी भन्छिन्, ‘पढाउँदा सबैले मन पराए, त्यही भएर छोडिन् ।’ ऊ बेला काठमाडौंमा अनलिमिटेड भन्ने संस्थाले उनलाई फुलटाइमरै भएर पढाउन डाक्यो । मेडिकलका कुरा पढाइन् । त्यसबीचमै अनलाइनतिरै रविन बजाचार्य सँग उनको भेट भयो । रविनले कहाँ काठमाडौंमा अल्झिरहेको भने । पढ्ने मान्छेलाई मौका छ भनेर प्रेरित गरे । पढ्ने भए आऊ भनेर फर्म पनि रविनले नै भरिदिए । २००२ को जुनमा उनलाई अमेरिकाको भिसा लागेर अमेरिका आइन् । क्यान्ससको इम्पोरिया युनिभर्सिटीमा भर्ना भएकी थिइन् । इन्टरनेसनल विद्यार्थी भएकाले यहाँ खर्च बढाइदिने रहेछन् भन्ने मेसो पाइन् । ‘मास्टर्स सकेको भए पनि मास्टर्स पढ्न नदिएर चाहिने नचाहिने इङ्लिस पढ्न लगाए’, उनी भन्छिन्, ‘इन्टरनेसनल विद्यार्थी भनेर धेरै कोर्स दिएर लम्ब्याउन चाहँदा रहेछन् ।’ तर उनी भाग्यमानी ठहरिन् । विश्वविद्यालयको ल्याबमै काम पाइन् । अरुले घन्टाको ४ डलर पाउँदा उनले ६ डलर पाइन् । क्याफ्टेरियामा पनि काम गरिन् । बरु रविनलाई पनि सुइँको दिइनन् । धेरैतिर चहार्दा न्युयोर्कको ब्रुकलिन कलेज भेटिन् । पाठ सिकिन् । अरुको भर पर्नु हुँदो रहेनछ । आफैंले सबैथोक गरिन् । कलेज खोज्नेदेखि भर्ना गर्ने लगायतका काम । त्यहाँ पिएचडी नै गर्ने तय भयो । २००३ मा न्युयोर्क आइन् । फुल स्कोलरसिपमा पिएचडी गर्न पाउने भइन् । त्यहाँ प्रोफेसरहरुले तिमीले पढाउन पनि पर्छ भने । देउतै भेटेजस्तो ठानिन् । पढाउँदा विद्यार्थी खुसी नै भइहाले । उनलाई नेपालमै अध्यापनको अनुभव जो थियो । उता रविनसँग सँगै बस्न थालिसकेकी थिइन् । बिहे पनि गरिन् । २००५ मा बच्चा पनि जन्मियो । रविन जो साह्रै सहयोगी थिए । बच्चा हुर्काउन सजिलो भयो । ब्रुकलिनबाट पिएचडी सक्नचाहिँ कठिन भयो, तर चार वटा केमेष्ट्रीमा दुईवटा, मास्टर इन साइन्स एदुकेसन र मास्टर अफ न्युट्रीसन गरी चार बटामा मास्टर्स गर्नचाहिँ सकिन् । ‘बच्चा भएपछि धेरै गाह्रै थियो, रविनको साथ थियो, तर पढाइ छाडिनँ,’ उनी भन्छिन् । उनले अर्काे विषयमा पनि मास्टर्स सकिन् ।
शर्मिलाले विद्यार्थी भिसाका लागि संघर्ष गरिन् । एकातिर फुलटाइम विद्यार्थी पनि हुनुपर्ने, अर्काेतिर जुम्ल्याहा बच्चा हुर्काउनुपर्ने । रविनको साथ अति महत्वपूर्ण हुन्थ्यो र उनको संघर्षमा सफलता मिल्यो । २०१० सम्म एफवान भिसाकै लागि संघर्ष गर्दाको क्षण उनलाई जीवनको स्मरणीय घडी लाग्छ । अमेरिका आएका नेपालीलाई पनि विद्यार्थी भिसा मेन्टन गरिरहन सुझाव दिन चाहन्छिन् । फुलटाइम विद्यार्थी नै भएर भिसा रिन्यु गरिरहन उनी सुझाउँछिन् । अवैध बस्नुहुँदैन भन्ने उनको मान्यता छ । कहाँकहाँ अवसर छ भनेर खोज्नुपर्ने उनको अनुभव छ । ‘नेपाली कता छन् भनेर खोज्ने हिँड्नुभन्दा एक्लैले पनि अवसर खोज्नुपर्छ’, उनी भन्छिन्, ‘पढाइचाहिँ कहिल्यै छोड्नुहुँदैन ।’

जीवनका उपलब्धिहरुको श्रेय श्रीमान् रविनलाई दिन्छिन् शर्मिला । भन्छिन्, ‘उहाँले प्रेरणा नदिएको भए न अमेरिका आउँथें, न पढाइ निरन्तरता दिन सक्थें ।’ बच्चा भइसकेपछि पनि रविनकै साथ र सहयोगका कारण पढाइलाई निरन्तरता दिन सकेको सुनाउँछिन् । पहिला काठमाडौं हुँदा नचिनेको तर अनलाइनमै भेटेको मान्छे पनि कति धेरै सुझबुझपूर्ण, कति धेरै समझदार अनि कति धेरै सहयोगी भन्ने उनलाई लागिहाल्यो । अमेरिका आएपछि झन्झन् नजिक भइन् । अभौतिक माध्यमबाट भेटिएका उनै रविनलाई जीवनसाथी चुनिन् ।

नेपालको शिक्षा उच्चकोटीको नै लाग्छ शर्मिलालाई । नेपालीहरुले मेहेनत गरेको देख्छिन् । आधार नै राम्रो भएको हुँदा अमेरिका आएका नेपालीले पनि राम्रो गर्न सकेको उनको बुझाइ छ । ‘साइन्समा त झन् अमेरिकाका विद्यार्थीको पृष्ठभूमि नै छैन,’ भन्छिन्, ‘हामी त नेपालमा बच्चैबाट साइन्स पढ्यौं ।’
जीवनमा पिएचडी गर्ने ठूलो धोको छ । अनलाइनमा पिएचडी गर्दैछिन् । साथीहरुले पिएचडी सकेका छन् । दुख नगर भन्ने पनि छन् । तर बच्चा हुर्किसकेकाले सक्छु भन्ने आत्मविश्वास छ । अहिले सिटी युनिभर्सिटी न्यूयोर्क अन्तरगतका होस्टोस कम्युनिटी कलेज, लग्वार्डिया कम्युनिटी कलेज र पेस युनिभर्सिटी न्युयोर्कमा गरी ३ ठाउँमा पढाइरहेकी छन् । पिएचडी सक्ने र एक ठाउँमामात्रै पढाउने योजनामा अर्जुनदृष्टि लगाइरहेकी छन् । रविन कहिलेकाहीँ पढाउन छोड्, आराम गर पनि भन्छन् । तर उनी भन्छिन्, ‘पढाइरहेका ठाउँमा मन पराइरहेका छन्, अर्काेतिर पढाउन छोड्नै सक्दिनँ, प्यासनै हो टिचिङ ।’ बच्चाहरुले गरेको सम्मानले झन् उनलाई प्रेरणा थप्छ । टिचिङमा सबैभन्दा ठूलो खुसी नै उनलाई विद्यार्थीले गरेको आदरसम्मान हो ।

नेपालमै भइदिएको भए छिटै बिहे हुन्थ्यो होला । पढाइ धेरै अघि नबढ्न पनि सक्थ्यो होला । पिएचडी नै गर्ने उद्देश्य नबन्न पनि सक्थ्यो होला । तर अमेरिका आइसकेपछि भने पढाइलाई निरन्तरता दिन सकेकोमा उनलाई आनन्द लाग्छ । बच्चामा खासै सपना देखेकी थिइनन् । झन् टिचर बन्छु भन्ने सपना त छँदै थिएन । तर अहिले प्यासन नै यही छ । पद्मकन्यामा त्यत्तिकै जाँदा पनि पढाउन पाउनु नै अध्यापनको नशा बसाल्ने प्रवेश बिन्दु भइदियो । झन् साइन्स भनेपछि धेरैले गरेको सम्मानबाट उत्साहित हुन्छिन् उनी । पिएचडी गरेका र उनको आम्दानी बराबरै छ । तर पनि उनलाई पिएचडी गर्ने धोको छ । ‘म महिला गर्न सक्दिन भनेर घरमा बसे केही गर्न सकिन्न,’ उनी भन्छिन्, ‘आफू बाहिर निस्कन सक्नुपर्छ । सपोर्ट पनि पाइन्छ ।’ सधैं सकारात्मक सोच राखे सफल भइन्छ भन्ने उनलाई लाग्छ ।