अल्प ज्ञानको परिणाम नराम्रो

अजय छोचूं ।

जन मनस्थिति बुझ्न गाह्रो हुँदो रहेछ । राजा वीरेन्द्रको पञ्चायती शासन काललाई शोषण र तानाशाही शासनकालका पराकाष्ठका रुपमा लिइयो । जनताको मागभन्दा पनि राजा वीरेन्द्र स्वस्फुर्त इच्छाअनुरुप जनमत सङ्ग्रह दिइयो । दरबारभित्र राजाविरुद्ध आवाज उठिरह्यो । तर पनि वीरेन्द्रले बहुदललाई पूर्ण सहयोग गरे । संवैधानिक राजा भएर बहुदललाई टेवा पुर्याउन छोडेनन् । जनता र पार्टीहरुलाई त्यो पनि पचेन । राजा बोल्न पर्यो, राजा किन निष्कृय भन्ने आरोप लाग्न छाडेन । अन्त्यमा राजा वीरेन्द्र तथा परिवार षडयन्त्रमा मारिए । पछि राजा ज्ञानेन्द्रले खास राम्ररी शासन गर्न पाएनन् । विदेशी तत्व र अदूरदर्शी पार्टी नेताहरुको चपेटमा संवैधानिक राजसंस्था हट्यो ।
देशमा गणतन्त्र स्थापित भयो । बेल पाक्यो कागलाई हर्ष न विस्मात भने झै आम जनताले खास प्रतिक्रिया देखाएनन् , विदेशी तत्व अनि त्यही तत्वको आडमा हुर्के बढेका पार्टी नेता र कार्यकर्तामात्र रमाए । नेपाली पहिचान अनि अस्तित्वको अन्त्य गर्न हिन्दु राष्ट्र हटाइयो । राष्ट्रिय झन्डासमेत परिवर्तन गर्ने प्रयास गरियो । धन्य आम जनताले मानेनन् । सवैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसमा बीपी कोइराला र गणेशमान सिंहको अन्त्यपछि ऐतिहासिक पार्टीमात्र रह्यो । बीपीको तजविजमा खुलुको कम्युनिस्ट पार्टीले विस्तारै जन्मदातालाई विर्सदै गयो ।
अर्कोतिर राजा वीरेन्द्रको प्रजातान्त्रिक विचारतिर असहमत पक्ष तथा भाइ भारदारकै निरक्षणमा कम्युनिस्ट पार्टीमा आफ्ना भाइ छोरालाई कम्युनिस्ट बनाए ताकि आफ्नै तजविजमा पार्टी चलोस् । तर त्यसो भएन । शक्ति मोहले पार्टी मोह बलियो बनायो । त्यसैले आज कतियर दरबारिया र पञ्च हर्ताकर्ताका सन्तान सशक्त कम्युनिस्ट छन् । राजसंस्था अनि संवैधानिक राजतन्त्रको देशको स्थितिलाई नियाल्ने हो भने नेपाल आज अस्तित्वविहीन गणतान्त्रिक देश बनेको छ ।
जहाँ राष्ट्र प्रमुखहरुको दौडाहा छिमेकी राष्ट्रहरुमा हुन्छ । छिमेकी भारतमा सीमित दौडाहा अब चीनतिर पनि बढ्न थालेको छ । हिजो राजसंस्था फाल्ने अहिले चुकचुकाउँदै छन् । भुस नदेख्नेले चामलको बोरा पाउँदा मात्तिएजस्तै राष्ट्रको नेतृत्व पाउनेको शान सौकतबाट आम जनमानस रनभुल्लमा पर्दैछ । भनिन्छ अल्प ज्ञानको परिणाम नराम्रो हुन्छ । हुन पनि विश्वका कतिपय विकसित अनि शिक्षित देशमा राजसंस्था÷संवैधानिक राजसंस्थ पूजनीय छन् । दुःखको कुरा के छ भने नेपालमा अल्प शिक्षित नेता वा पार्टीले नत देश नत आफ्नै पार्टीलाई परिभाषित गर्न सकेको छ ।