बरिष्ठ उपाध्यक्ष सुनील शाहद्धारा एनआरएनए अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा

अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनील शाहले आगामी कार्यकालका लागी अध्यक्ष पदमा औपचारिक उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

शनिवार गृहनगर डालसमा भव्य कार्यक्रमका बिच साहले आगामी कार्यकाल २०१९ /०२१ का लागी अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नु भएको हो । दुई वर्ष बरिष्ठ उपाध्यक्ष पदमा रहंदा नेपालीहरुको बाक्लो बसोवास रहेका अमेरिकाका बिभिन्न शहरहरुमा पुगेका साहले आफुले चुनाबी एजेण्डा भन्दा गैर आवासीय नेपालीहरुका आवश्यकताका बिषयबस्तुलाई सम्बोधन गर्न अध्यक्षमा उम्मेद्वार बन्न लागेको स्पष्ट पार्नु भयो।

अध्यक्षमा निर्वाचित भएपछि प्रवासी नेपालीहरुका लागी गर्न सक्ने दर्जन बढि कामको फेहरिस्त सुनाउदै साहले बर्तमान कार्यसमितीले सुरुवात गरेका राम्रा कामहरुको निरन्तरता पनि आफ्नो प्राथमिकता भएको बताउनु भयो। अमेरिकामा रहेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गरि बिभिन्न कार्यक्रम, नेपालीहरुमा देखिने अध्यागमन समस्या समाधानका लागी पहल, अमेरिकामा रहेका नेपाली संघ संस्थाहरु संगको सहकार्य संगै नेपाली सामुदायिक केन्द्रहरु स्थापनाका लागी पनि आफुले योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका साहले दोहोरो नागरिकता लगायतका बिषयमा भइरहेका पहललाई आफुले थप जोड दिने बताउनु भयो ।

दुई बर्षको अनुभबले एनआरएनएलाई थप संस्थागत विकास र पारदर्शी बनाउन आफुमा थप बल पगेको बताउंदै साहले अहिले देखिएका समस्या समाधानका लागी पनि आगामी अध्यक्षमा बिजयी बनाउन सबैले सहयोग गर्न अनुरोध गर्नु भयो । सुनील साह जिताऔं अभियानले स्थानीय फिष्टेल रेष्टरेन्टमा आयोजना गरेको कार्यक्रममा उपस्थित सहभागीहरुले साहलाई शुभकामना दिएका थिए ।

साहलाई जिताऔं अभियानका सदस्य तथा तरुण दल अमेरिका शाखाका अध्यक्ष ओम भट्टराईले सहजिकरण गरेको कार्यक्रम मार्फत नेपाली कांग्रेसका युबा नेता हरिबोल भण्डारी, ज्ञानेन्द्र कार्की, प्रेम पाण्डे, सिपी पौडेल, शैलेस आचार्य, सन्तोष बिष्ट, पासाङ लामा, उमा कार्की, बिजयराज भट्टराई, देबराज न्यौपाने, बिकास उप्रेती, सुमन थापा, बादल भुजेल लगायतले साहलाई जितका लागी शुभकामना दिएका थिए ।

कार्यक्रममा सहभागी संचारकर्मीले सोधेका प्रश्नहरुको साहले जवाफ दिनुभएको थियो । उम्मेद्वारी घोषणा कार्यक्रम पछि साहले सामाजिक संजालमार्फत उम्मेद्वारी घोषणा सभामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

आगामी मे महिनाको अन्त्यतिर हुने एनआरएन अमेरिकाको निर्वाचनलाई लक्षित गर्दै बिभिन्न पदका आकांक्षीहरुले उम्मेद्वारी घोषणा गरिरहेका छन् । साढे ९ हजार सदस्य रहेको एनआरएन अमेरिकाको आगामी अध्यक्षका लागी मात्रै आधा दर्जन आकांक्षी देखिएका छन् ।