अमेरिकाको खुद्रा व्यापार बढ्यो

फागुन २८, वाशिङ्टन डीसी (अमेरिका) । गत जनवरीमा अमेरिकाको खुद्रा व्यापारमा अनपेक्षित वृद्धि भएको छ । डिसेम्बरको खुद्रा व्यापार भने यसअघि गरिएको प्रक्षेपणभन्दा कम छ ।

अमेरिकाको खुद्रा व्यापार जनवरीमा डिसेम्बरको तुलनामा शून्य दशमलव २ प्रतिशत बढेको अमेरिकाको वाणिज्य मन्त्रालयले सोमवार बताएको छ । डिसेम्बरमा भने खुद्रा व्यापारमा १ दशमलव ६ प्रतिशत कमी आएको छ । यो कमी सन् २००९ यताकै धेरै हो । यसअघि डिसेम्बरमा १ दशमलव २ प्रतिशत कमी आउने प्रक्षेपण गरिएको थियो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने जनवरीमा अमेरिकाको खुद्रा व्यापार २ दशलमव ३ प्रतिशत बढेको छ । अमेरिकाको ३५ दिने आंशिक बन्दका कारण जनवरीको खुद्रा व्यापारको तथ्यांक सार्वजनिक हुन ढिलाइ भएको हो । जनवरीमा देखिएको खुद्रा व्यापारमा वृद्धिको नतीजाले वर्षको पहिलो त्रैमासमा अमेरिकाको अर्थतन्त्रमा केही सुधार आउन सक्ने अनुमान छ । वर्षको शुरुआती ३ महीनामा अमेरिकाको खुद्रा व्यापार १ दशलमव ५ प्रतिशतभन्दा थोरै बढ्ने अनुमान छ । एजेन्सी