बोइङ ७३७ म्याक्स ८ सुरक्षित छ : एफएए

फागुन २८, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी विमान निर्माता कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलको विमान आकाशमा उडाउन योग्य भएको अमेरिकी उड्ययन प्राधिकरणले बताएको छ ।

पाँच महीनाभन्दा कम समयमै उक्त मोडलको २ ओटा विमान दुर्घटना भएपछि सोमवार विश्वका कयौं देशले पूर्ण अनुसन्धानको माग राख्दै यो विमानको उडानमा रोक लगाएपछि अमेरिकी संघीय उड्ययन प्रशासन (एफएए)ले यस्तो बताएको हो । स्थगनको प्रतिउत्तरमा एफएएले सोमवार ‘विमान उडाउन सुरक्षित छ’ भन्ने उडान योग्यता सूचना जारी गरेको थियो ।

विमानमा केही त्रुटी फेटिएमा एफएएले तत्काल र उपर्युक्त कारवाही गर्ने अमेरिकी यातायात मन्त्री एलेन चाओले पनि भनेका छन् । सोमवार चीन, इण्डोनेशिया, इथियोपियाले ७३७ म्याक्सको उडान रोकेका थिए । अर्जेन्टिना, मेक्सिको र ब्राजिलका विमान कम्पनीहरुले पनि उक्त विमानको उडान रोकेका थिए । एजेन्सी