अमेरिकामा पनि बोइङ ७३७ को उडान स्थगन

फागुन ३०, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले पनि घरेलु विमान निर्माता कम्पनी बोइङको ७३७ म्याक्सको उडान स्थगन गरेको छ । त्यहाँको उड्ययन प्राधिकरण संघीय नागरिक उड्डयन प्रशासन (एफएए)ले देशभर सो मोडलको विमानको उडान रोकेको हो । पाँच महीनाभन्दा कम समयमै बोइङ ७३७ म्याक्सको विमानमा भएको २ दुर्घटनाबीच समानता रहेको प्रमाणलाई उद्धृत गर्दै एफएएले अन्ततः सो निर्णय गरेको हो । विमानबारे अनुसन्धान चलुञ्जेलसम्म स्थगन लागू हुने एफएएले बताएको छ ।

आइतवार दूर्घटनामा परेको इथियोपियन एयरलाइन्सको विमानको चाल अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरलाइन्सको विमानको जस्तै रहेको नयाँ सेटलाइट डाटाले देखाएको एफएएका निमित्त प्रशासक ड्यानिएल इल्वेलले बताएका छन् । यस अघि भने चौतफी दबाब बढेपनि प्रमाण नपाइएको भन्दै एफएएले ७३७ म्याक्सको उडान स्थगन गर्न मानेको थिएन । विश्वमा ३ सय ७१ थान बोइङ ७३७ म्याक्स जेट प्लेट सञ्चालनमा छन् । यसमध्ये ७४ थान मात्रै अमेरिकी कम्पनीहरुले चलाइरहेका छन् ।

पछिल्लो निर्णयसँगै विश्वभर बोइङ ७३७ म्याक्स जेटको उडान ठप्प भएको छ । सो मोडलमा रोक लगाउने अमेरिका, ब्राजिल र रुस पछिल्ला देश बनेका छन् । योसँगै आफ्नो आकाशमा बोइङको ७३७ म्याक्स उडाउन रोक लगाउने देशको संख्या ५० माथि पुगेको छ । एजेन्सी