साफ महिला फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने

विराटनगर, चैत ६ गते । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

यहाँस्थित शहीद रङ्गशालामा भएको खेलमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालकी जर्घामगरले खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरिन भने ७३ औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपालको अग्रता २–० अगाडि बढाइन् ।

यसैगरी खेलको ८२ औँ मिनेटमा भण्डारीले हेडिङमार्फत् तेस्रो गरेकी थिइन् भने ८६ औँ मिनेटमा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोल अन्तरले विजयी बनाई फाइनलमा पु¥याएकी थिइन् । पौडेल ६४ औँ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा प्रवेश गरेकी हुन् ।

यस्तै बुधबारनै भएको दोस्रो सेमिफाइनलमा गत संस्करणका उपाधि विजेता भारत र उप विजेता बंगलादेश आमने सामने भएका थिए । जसमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेश माथि ४–० को फाराकिलो अन्तरले पराजित गरेको थियो ।

बंगलादेशविरुद्ध शुरुदेखि आक्रामक फुटबल खेलेको भारतले पहिलो हाफमै ३ गोल गरेको थियो ।

१७ औं मिनेटमा भारतले पाएको कर्नर किकलाई रुप्ना चक्माले गोलमा परिणत गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । २२ औं मिनेटमा इन्दुमति काथरासेनले सहज गोल गर्दै गोलसंख्या दोब्बर बनाइन् ।

३७ औं मिनेटमा सन्ध्या रन्जनाथनको क्रसमा इन्दुमतिले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भइन् । भारतले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पनि भारतले आक्रमक मुभ बनाए पनि गोल भने गर्न धौ धौ परेको थियो । भारतका लागि सन्जु यादबले उत्कृष्ट मुभहरु बनाएकी थिइन् । इन्जूरी टाइममा भारतका लागि सब्सीच्यूड खेलाडी अन्जु तामाङले चौथो गोल गरेकी थिइन्

आगामी शुक्रबार उपाधिका लागी  नेपाल र भारतले प्रतिष्पर्धा गर्ने भएका छन् । भारतले अहिलेसम्म लगातार चार संस्करणको उपाधि जितिसकेको छ भने नेपाल तीन पटक फाइनलमा पराजित भएको छ भने एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।