ग्लाइफोसेट क्यान्सरको ठोस कारक : अमेरिकी अदालत

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाका न्यायाधीशहरूले विश्वभर व्यापक रूपमा प्रयोग हुँदै आएको ग्लाइफोसेटमा आधारित कीटनाशक औषधि ‘राउन्डअप’ क्यान्सरको ठोस कारक भएको बताएका छन् ।

सन फ्रान्सिस्को अदालतका न्यायाधीशहरूको एक बेञ्चले सर्वसम्मत रूपमा यस्तो निर्णय गरेका हुन् । क्यालिफोर्निया निवासी इड्विन हर्डम्यानले ग्लाइफोसेट प्रयोगकै कारण आफूलाई नन–हजकिन लिम्फोमा (एक प्रकारको रक्त क्यान्सर) भएको भन्दै जर्मन बहुराष्ट्रिय फर्मास्युटिकल्स कम्पनी बेयरविरुद्ध मुद्दा हालेका थिए । सोही मुद्दाको सुनुवाइ गर्ने क्रममा न्यायाधीशहरूले ग्लाइफोसेटका कारण क्यान्सर हुने फैसला गरेका हुन् । बेयरले भने आफ्नो उत्पादनमा क्यान्सर उत्पन्न गराउने तत्त्वहरू छन् भन्ने दाबीको खण्डन गर्दै आएको छ । अबको सुनवाइमा बेयरले हर्डम्यानलाई तिर्नुपर्ने क्षतिपूर्ति र दायित्व निर्धारण गरिने बताइएको छ । यो खबर सार्वजनिक भएपछि बिहानी कारोबारमा बेयरको शेयरमूल्य करीब १२ प्रतिशत घटेर ६१ यूरो ६२ सेन्टमा आएको थियो । बेयरले ६६ अर्ब डलरमा अमेरिकी एग्रोकेमिकल कम्पनी मोन्सान्टो किन्दा राउन्ड अपको स्वामित्व पनि पाएको थियो । पछिल्लो निर्णयले कम्पनीलाई ठूलै धक्का लागेको छ ।

कम्पनीमाथि अमेरिकामा मात्रै यस्तै खालका ११ हजार २ सयभन्दा बढी मुद्दा दायर छन् । अगष्टमा राउन्डअपको प्रयोगले क्यान्सर भएको भन्दै क्यालिफोर्नियाका एक व्यक्तिलाई २८ करोड ९० लाख डलर तिर्न त्यहाँको राज्य अदालतले बेयरलाई आदेश दिएको थियो । तर, पुनरावेदन अदालतले सो क्षतिपूर्तिको रकम घटाएर ७ करोड ८० लाख डलरमा झारेको थियो । क्यालिफोर्नियाको राज्यस्तरीय अदालतमा मार्च २८ मा राउन्डअपबारे यस्तै खाले अर्को ट्रायल शुरू हुँदै छ । सो मुद्दामा पनि एक दम्पतीले राउन्डअपकै कारण आपूmहरूलाई नन–हजकिन लिम्फोमा भएको दाबी गरेका छन् । एजेन्सी