आगामी सातादेखि पुनः अमेरिका–चीन वार्ता

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी अधिकारी आगामी साता प्रत्यक्ष व्यापारवार्ताका लागि चीन भ्रमणमा जाने भएका छन् । सञ्चार माध्यममा प्रकाशित प्रतिवेदन अनुसार व्यापारयुद्ध अन्त्य गर्न उनीहरू चीनसँगको वार्ता सुचारु गर्ने दिशामा अघि बढेका हुन् ।

गतवर्ष दुई मुलुकले एकअर्काका अर्बौं डलरका सामग्रीमा आयात कर बढाएका थिए । गत डिसेम्बरमा व्यापारयुद्ध अन्त्यका लागि वार्ता गर्ने सहमति भएको थियो । तर, त्यसयता भएको वार्ताले निष्कर्ष निकाल्न सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको वार्ता निकै राम्रो गतिमा अघि बढिरहेको बताउँदै आएका छन् । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्थाइजर र वाणिज्य सचिव स्टिभन म्नुशिनसहितको टोली आगामी साता चीन प्रस्थान गर्नेछ ।

यो टोलीले चिनियाँ उपराष्ट्रपति लिउ हसँग वार्ता गर्ने वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ । प्रतिवेदनमा चिनियाँ टोलीले अर्को साता पुनः अमेरिकाको भ्रमण गर्ने अपेक्षा गरिएको छ । दुई मुलुकको व्यापारवार्ताबाट अप्रिलको अन्त्यसम्ममा निचोड निकाल्ने लक्ष्य राखिएको छ । यसअघि गत फेब्रुअरी १५ मा विना कुनै निष्कर्ष दुई मुलुकको व्यापारवार्ता सकिएको थियो । तर, महीनाको अन्तिममा ट्रम्पले वार्ता सम्झौताको निकै नजिक रहेको बताएका थिए । अहिलेसम्म सम्झौता भने हुन सकेको छैन । उनले चिनियाँ थप २ खर्ब डलरका सामग्रीमा मार्च १ देखि कर बढाउने निर्णय पनि स्थगित गरेका थिए ।

व्यापारयुद्ध शुरू भएयता अमेरिकाले २ खर्ब ५० अर्ब डलरका चिनियाँ सामग्रीमा आयात कर बढाएको छ । त्यसको जवाफमा चीनले पनि अमेरिकाबाट आउने १ खर्ब १० अर्बका सामग्रीमा कर बढाएको छ । एजेन्सी