अमेरिकाले बोइङ ७३७ म्याक्स विमानको उडान लाइसेन्स पुनरवलोकन गर्ने

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी सरकारले बोइङको ७३७ म्याक्स विमानको उडानको लाइसेन्स पुनरवलोकन गर्न निर्देशन दिएको छ । यातायातमन्त्री एलाइन चाओले अमेरिकाको इन्स्पेक्टर जनरललाई विमान प्रमाणीकरण प्रक्रियाको परीक्षणका लागि निर्देशन दिएका हुन् । पछिल्लो ५ महीनामा यो मोडलका दुई विमान दुर्घटनामा परेसँगै अमेरिकाले यस्तो निर्देशन दिएको हो । उक्त दुई दुर्घटनामा समानता देखिएको संकेत विज्ञहरूले गरेका छन् ।

विमान दुर्घटनाको अनुसन्धान गरिरहेका अनुसन्धाताले म्याक्स विमानको प्रणालीमा नै खराबी रहेको बताएका छन् । बोइङले सफ्टवेयर अपडेटको माध्यमबाट यसलाई सल्टाउन सकिने बताएको छ । चाओले निर्देशनको क्रममा सुरक्षाको प्रक्रिया तत्काल कार्यान्वयन गर्न फेडेरल एभिएशन एड्मिनिस्ट्रेशन (एफएए) लाई सहयोगका लागि पुनरवलोकन गर्नुपर्ने उल्लेख गरेका छन् । इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेको लामो समयसम्म पनि यो विमानमा रोक नलगाइएको भन्दै एफएएको आलोचना भएको छ ।
यसैबीच यूरोप र क्यानडाले आफ्नै हिसाबमा विमानमा सुरक्षा प्रत्याभूति रहेको वा नरहेको परीक्षण गर्ने बताएका छन् । यसले बोइङको यो विमानले पुनः विश्वभर उडान भर्नेबारे अन्योलता बढाएको छ । एजेन्सी