एनआरएन चुनावबारे

दिनको १५ सय युवा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन्छन् । भनिन्छ ३० लाखभन्दा बढी नेपाली नागरिकहरु अरब, मलेसिया, युरोप र अमेरिका लगायत विश्वका विभिन्न देशमा रोजगारी र शिक्षाका लागि पुगेका छन् । कसैलाई पनि आफ्नो मातृभूमि छाडेर अन्त जाने रहर हुँदैन । चाहे शिक्षा आर्जन गर्न होस् र रोजगारीका लागि जुन बहानामा विदेसिए पनि हरेक नेपालीको त्यो बाध्यता नै हो । रहर होइन । तर नेपालमा बसेर विदेशका नेपालीलाई हेर्ने दृष्टिकोण जनस्तरदेखि राज्यस्तरसम्मै फेरिएको छैन ।
नेपालमै केही नगरेर किन विदेश जानुपर्यो भनेर अर्ती उपदेश दिने धेरै भेटिन्छन् । तर व्यवहारिकता अर्कै छ । तीतो र नमिठो छ । सिस्टमको छेकछन्दसम्म पनि विकास नभएको देशमा राज्यका कुनै पनि निकायले कुनै पनि युवालाई मातृभूमिमै बस्ने र टिकीखाने गरीखाने वातावरण दिँदैनन् । कामकाजले सरकारी अड्डा पस्ने हो भने त्यहाँ मुख बाएर बसेका बाघजस्ता कर्मचारी भेटिन्छन्, जो कतिबेला सुधो मान्छे आउला र त्योसँग केही न केही झारौंला भनेर ढुकिरहेको हुन्छ ।
इन्धनको समस्या उस्तै, नागरिकको जिउधनको सुरक्षा दिने प्रहरी प्रशासनले बिनाकुनै बाहना जोकसैलाई जेकारण पनि दुख दिनसक्छ । मानवअधिकार कुन चराको नाम हो पत्तो हुँदैन । व्यापार व्यवसाय गर्दा इन्धन र पूर्वाधारहरुको मात्रै दुख झेलेर पुग्दैन । अचेल त गुन्डाहरुको असुली सुरु भइसकेको छ नेपालमा । तर यी सबैथोकका बाबजुद जहाँ रहेको नेपालीले पनि आफ्नो मातृभूमि नेपाललाई असाध्यै माया गर्छ । ऊ बाहिर बसेरै भए पनि देशका लागि केही न केही गर्ने प्रयास गर्छ । भलै नेपालभित्रै बस्ने र राजनीतिकर्मी तथा कर्मचारीतन्त्रबाट जस्तोसुकै अपहेलना र लान्छना सहनुपरोस् विदेशमा बस्ने नेपाली नेपालको भलाईका लागि इँटा थपिरहन्छ । जूनकीरीझैं ज्योति बालेर भए पनि आफ्नो देशको नाम विदेशमा चम्काइरहन्छ । त्यस्तै नेपालीहरुका प्रयासबाट स्थापित संस्था गैरआवासीय नेपाली संघ (एनआरएन) को अमेरिकाको निकट भविष्यमै नयाँ निर्वाचन हुँदैछ । त्यस निर्वाचनको संघारमा हामी शुभकामना दिन चाहन्छौं कि निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा होस् । नेपाल र नेपालीका निम्ति योगदान गर्न सक्ने व्यक्ति नेतृत्वमा चुनियोस् र उसले अमेरिकामा बसेका नेपालीको हितमा काम गरोस् ।