बधाई बब डिलन

अमेरिकी लोकसंगीतमा आधुनिकता मिसाएर विद्रोहका गीत गाउने बब डिलनलाई यस वर्षको नोबल पुरस्कार प्रदान गर्ने स्विडिस एकेडेमीको घोषणापछि विश्वभर नै एक किसिमको तरंग आएको छ । एउटा पुरस्कारको घोषणाले यत्तिको बहस सायदै अरुबेला सुरु भएको थियो । कसैले कुनै क्षेत्रमा गरेको योगदानको कदर वा उत्कृष्ट कर्म गरे स्वरुप पुरस्कार दिइन्छ । पुरस्कारले पुरस्कृतको उचाइ बढाउँछ । पुरस्कृतको चर्चा परिचर्चा चल्न थाल्छ । तर कहिलेकाहिँ पुरस्कार लिइदिने व्यक्तित्व यस्तो भइजान्छन् कि पुरस्कारको उचाइ प्रापकका कारण बढ्छ । २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायक बब डिलनलाई दिइँदा धेरैको प्रतिक्रिया त्यस्तै आयो—बब डिलन होइन नोबेल पुरस्कार सम्मानित भयो ।
पुरस्कारहरु विवादमा आउँछन्, संसारकै ख्यातिप्राप्त नोबेल पुरस्कार पनि विवादबाट अछुतो छैन । कहिले सही व्यक्तित्व चयन भएन भनेर त कहिले केही भनेर यो पुरस्कार पनि विवादमा त आइरहन्छ र आलोचकहरुको निसानामा परिरहन्छ । तर, आलोचनाभन्दा बढी प्रशंसा भने यसले पक्कै कमाएको छ र यसको गरिमा स्थापनाको ११५ वर्षसम्म कायम छ । यसपालि बब डिलनलाई पुरस्कृत गर्ने नोबेल कमिटीको निर्णय सार्वजनिक भएपछि उत्पन्न प्रतिक्रियाको हुलमा पनि आलोचना कतैकतै गुञ्जिएका छन् नै । तर धेरैतिरबाट प्रशंसा आइरहेको छ । एकखाले परम्परालाई तोडेर फरक ढंगले पुरस्कार दिँदा धेरथोर आलोचना भएन भने यो पुरस्कारको अस्तित्व पनि नदेखिएका । नोबेल कमिटीले सबैलाई आश्चर्य लाग्ने गरी बबलाई पुरस्कृत गर्ने निर्णय ग¥यो । साहित्यतर्फ गीत विधामा पुरस्कार यसअघि कसैले पाएका थिएनन् र गायक त बब नै पहिलो भाग्यमानी हुन् जसको पोल्टामा पहिलोचोटि यो पुरस्कार प¥यो । बबका छोटाछोटा गीतले पनि हजारौं हजार शब्दका उपन्यासहरुले भन्दा धेरै सन्देश दिन्छन् भन्ने उनका प्रशंसकहरुको मान्यतालाई यो पुरस्कारले थप बल प्रदान गरेको छ ।
बबले अमेरिकी लोक गायनमा आधुनिकता मिसाए । अझ उनको खास खुबी त लोककै बोली बोल्न सक्नु हो । त्यसैले पनि यी ७५ वर्षे गायकका गीतका प्रशंसक संसारभर फिजिएका छन् । हाम्रै नेपालका स्वर सम्राट नारायण गोपाल पनि बब डिलनका फ्यान जो थिए । गीत भनेकै शृंगारिक हुनुपर्छ भन्ठान्नेहरुका लागि बब अनौठा पात्र पनि हुन् । अमेरिकी जनताको अधिकारका कुरा बबका गीतमा आउँथे । काला जातिको पक्षको अभियानमा उनी सक्रिय रहे । कलाकार तटस्थ हुनुपर्छ कसैको पक्ष विपक्ष हुनुहुँदैन भन्ने कोरा मान्यता विपरीत उभिए । कलाकार मार्गदर्शक बन्न सक्नुपर्छ भन्ने जो उनले सिकाए । आफ्नै देश अमेरिकाले भियतनाममाथि छेडेको युद्धको विपक्षमा धावा बोल्दै उनले गीत लेखे अनि गाए । गीतसंगीत भनेको मनोरञ्जनको साधनमात्रै हो भन्ने मान्यतामाथि पनि बबका काव्यात्मक गीतले धावा बोले । त्यसैले पनि फरक थिए, आम गीतकार र गायकभन्दा फरक । त्यही योगदानको कदर हो नोबेल । यस्तै चयनहरुले पुरस्कारहरुको गरिमा बढ्ने हुन् । बब त पुरस्कारका आकांक्षी पनि थिएनन् र पनि पाए । साँच्चै यस्तै पात्रहरुले पुरस्कृत हुँदा नै हो पुरस्कार पुरस्कार जस्तो हुने ।