रोगी नेताहरुको देश

नेपाली कांग्रेसी नेतृ सुजाता कोइरालाको उपचारका लागि सरकारले ५० लाख दिएपछि उनको स्वास्थ्यप्रति चिन्ताभन्दा त्यो पैसा लिएकोमा धेरै आलोचना भयो । मानवीय दृष्टिले जो कोही बिरामी हुँदा पनि सहानुभूति राख्ने नेपाली समाजमा नेताहरुप्रति थप वितृष्णा जगाउने परिघटना बनेर यो सन्दर्भ दर्ज भएको छ । आफ्नो कमाइको कर तिरका प्राणीले राज्यको ढुकुटी त्यसरी बाँडिँदा विरोधको स्वर उराल्नु अस्वाभिक हुँदै होइन ।
सुजाता कोइराला ५० लाख रुपैयाँ नभएर उपचार गर्न नसक्ने प्राणी थिइनन् । उनको पुख्र्याैली सम्पति छँदैछ र राजनीति गरेपछि पनि उनले राम्रै कमाइ गरेको आरोप लाग्दै आएको छ । आमा सुष्मा कोइरालाको नाममा ट्रष्ट खोलेर जनताका लागि सेवा गर्छु भन्ने, भूकम्प पीडितका लागि १ हजार घर आफ्नै व्यक्तिगत पैसाले बनाइदिन्छु पनि भन्ने अनि राज्यबाट ५० लाख रुपैयाँ लिन मरिहत्तै गर्ने उनको चरित्रकै कारण सारा नेताहरुप्रतिकै दृष्टिकोण बदल्यो । लिन त योभन्दा अघि केपी ओली, सुशील कोइराला, सहाना प्रधान, विद्या भण्डारी, चक्र बास्तोला, गोविन्दराज जोशी लगायत नेताले राज्यबाट आर्थिक सहयोग लिएकै हुन् । सुशील र केपीको भन्दा कम पैसा लिएर पनि सबैभन्दा बढी आलोचना सुजाताकै आलोचना हुनुका पछाडि निश्चित कारण पक्कै छन् । सुशील कोइराला आर्थिक रुपमा कंगालै थिए भन्ने नेपाली जनतामाझ छिपेको होइन, केपी ओली ठूला नेता भइकन न उनको पुख्र्यौली सम्पति धेरै थियो न उनको कमाइ । तर शक्ति र सत्ताको रापतापमा उनले व्यक्तिगत बंगालाचाहिँ बनाएको देखिन्छ । सुशील कोइारालले त त्यो पनि गरेनन् । कृष्णप्रसाद भट्टाराईको हकमा पनि त्यही हो । भट्टराईका निम्ति सरकारले आश्रम बनाइदिए पनि त्यो उनको व्यक्तिगत सम्पति भएर उनका हकवालामा सर्दै जाने होइन । राज्यकै स्वामित्वमा आउन सक्ने सार्वजनिक सम्पति हो ।
सुजाता कोइरालले त एकपटकको सपिङ नै ५० लाखको गर्छिन् भनेर सप्रमाण रिपोर्टिङ नेपाली मिडियाले गरेकै हुन् । त्यतिका सम्पति हुँदाहुँदै गरिब नेपालीको भाग खोसेर उनको उपचार किन गर्नुप¥यो भन्नेचाहिँ प्रमुख सवाल हो । अरु कुनै साधारण नेपालीले घरखेत बेचेर मिर्गाैला वा मुटुको उपचार गर्नुप¥यो र या क्यान्सरकै दबाई खोज्यो भने पनि राज्यले सुका सहयोग गर्दैन र सहज रुपमा उपचार गर्न सरकारी अस्पतालमा प्रविधि जोड्दैन । योगदानकै कुरा गर्ने हो भने सुजाता कोइराला नेपाली राजनीतिमा आएर न कुनै योगदान नै भएको छ, भएको छ बरु वंशवादको विकृत परम्परा स्थापना । अरबमा पसिना बगाउने जाने बेरोजगार युवा त स्वास्थ्य जाँच नगरी जान पाउँदैन । निजी तथा सरकारी जागिरमा लाग्न पनि निरोगिताको प्रमाण पेस गर्नुपर्छ भने राजनीतिचाहिँ रोगीहरुले गर्ने हो र ? देशका अधिकांश नेता रोगी छन् । तिनको उपचारमा यसैगरी पैसा बाँड्ने हो भने विकास कुन पैसाले गर्ने ? बरु स्वास्थ्यमन्त्री गगन थापाले प्रस्ताव गरेको विधि पारित गरेर निश्चित दायरामा मात्रै पैसा उपलब्ध गराउनु उपयुक्त हुन्छ र नेताहरुसहित सबै नेपालीको स्वाथ्य बिमा गर्ने नीति ल्याइनुपर्छ