प्रदेशको कचिङ्गल

नेपालमा संविधान संशोधनको प्रस्ताव सरकारले संसद सचिवालयमा दर्ता गराएपछि प्रदेश नं ५ मा तहल्का नै मच्चियो । हजारौं मानिस सडकमा आई त्यसको विरोधमा आवाज उठाए । यहाँसम्म भयो कि सत्तारुढ माओवादी र कांग्रेसकै नेताले पनि ती आन्दोलनकारीको अगुवाइ गरे । जब कि त्यो संशोधन प्रस्तावको सबैभन्दा विरोध एमालेले गरिरहेको थियो । प्रदेश नं ५ का पहाडी जिल्लालाई ४ मा लगेर मधेस तराईको समथर भागलाई मात्रै राखिएपछि आन्दोलनको ज्वारभाटा उठ्यो ।
नेपाल न मधेस मात्रै हो, न पहाड मात्रै र हिमाल मात्रै । नेपाल भनेको हिमाल पहाड तराई नै हो । यो सत्य नस्वीकार्दा नेपालै स्वीकारिन्न । तर नेताहरु आफ्नो व्यक्तिगत र दलगत स्वार्थका लागि प्रादेशिक विभाजन र भाडबन्डामा लागेका छन् । आफ्नो जिल्ला टुक्र्याउन हुन्न भन्ने तर अरुको चाहिँ जनतालाई पायक परोस या नपरोस् मतलब नगरी जता पनि मिसाइदिने क्रम चल्यो । त्यसैको परिणाम हो यो आन्दोलन ।
आखिर हिजो नेपालमा न गाविस थिए न जिल्ला न अञ्चल र न विकास क्षेत्र । बेलाबखतका विभाजनले गाउँ विकास समिति र जिल्लाहरु बनेका हुन् । अझ पहिला त ससाना राजाहरुका देश पनि थिए । त्यसैले परिवर्तन सधैं भइरहन्छ । त्यसलाई स्वाभाविक मान्नुपर्छ । तर पुरानो सीमा र साँध फेर्नै हुन्न भन्नेम मान्यता राखिनु हुन्न । तर सबैभन्दा ठूलो कुरा भनेको जनतालाई केन्द्रमा राख्नु हो । जनतालाई कस्तो इकाई बनाउँदा सहज हुन्छ र कहाँ केन्द्र बनाउँदा पायक पर्छ भन्ने चाहिँ अनिवार्य महत्वपूर्ण सर्त हुनुपर्छ प्रादेशिक वा गाउँ पालिका र नगरपालिकाको सीमा काट्दा । रोल्पा, रुकुम, प्युठानसम्मका जनतालाई पोखरा पायक ठाउँ होइन । त्यसैले तिनीहरुलाई प्रदेश नं ४ मा पार्न जायज कदापि थिएन । त्यसैले जनता उठे ।
भौगोलिक विभाजन भए पनि नेपालीलाई बाँधेको सहिष्णुता र सदभावले हो । त्यसैले त्यसलाई अझै मजबुद बनाउने गरी प्रादेशिक संरचना बनाउनु उत्तम हो । होइन, तँ हिमाली होस् छुट्टै बस, तँ पहाडी होस् छुट्टै बस र तँ मधेसी होस् छुट्टै बस भन्नु विकासमा बाधक बनाइनु हो । समावेशी समाजमात्रै विकसित हुन्छ । एउटा बगैंचामा एकैखाले फूलहरुमात्रै भए भने जसरी मोनोटोनस हुन्छ, एउटा समाजमा एकैथरी भाषा र जाति संस्कृति हुँदा सौन्दर्य अझै चहकिलो नहुन सक्छ । मिश्रित समाज हुँदा मात्रै हार्दिकता बढ्छ । त्यसैले प्रदेशहरु हिमाल, पहाड र तराई जोडिएकै राम्रो हो ।
गणतन्त्रमा राजाका पालामा गरेका काम सबै नाजायज मान्नु अन्धता हुन्छ । त्यसो हो भने त यो देशकै औचित्यमाथि प्रश्न उठ्छ । आखिर नेपाललाई नेपाल बनाएको राजतन्त्रात्मक व्यवस्थाले हो । त्यसको जस पृथ्वीनारायण शाहलाई मात्रै दिनु जरुरी छैन । नेपाल खाल्डोमा उनले हमला गरेर आफ्नो बनाउनुअघि पनि त्यहाँ राजाहरु थिए । राजतन्त्र थियो । राजा भएकैले विरोध गर्नुपर्ने हो भने भगवान बुद्धलाई के भन्ने ? उनलाई नमान्ने ? आखिर उनी पनि राजाकै छोरा थिए ।