एच–वनबीच भिषाको लागि आवेदन २ लाख नाघ्यो

बैशाख, १ वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाले अस्थायी कामदारका लागि दिने गरेको भिषा एच–वनबीमा २ लाखभन्दा धेरैले आवेदन दिएका छन् । त्यहाँको आप्रवासन हेर्ने निकाय नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) का अनुसार चालू आर्थिक वर्षका लागि अप्रिल ५ सम्ममा एच–वनबी भिषामा २ लाख १ हजार ११ आवेदन परेको छ । यो गत वर्षको तुलनामा ५ प्रतिशत धेरै हो ।

गत वर्ष भने सो भिषाका लागि १ लाख ९० हजार आवेदन परेको थियो । अमेरिकी विश्वविद्यालयबाट स्नातकोत्तर उत्तिर्ण गरेका लागि छुट्टयाइएको २० हजार कोटामा समेत चाहिनेभन्दा धेरै नै आवेदन परेको बताइएको छ ।यूएससीआईएसले चालू आवका लागि अप्रिल १ देखि आवेदन लिन थालेको थियो ।

अमेरिकाले एच–वनबी कार्यक्रम अन्तर्गत वर्षेनी ६५ हजार भिषा जारी गर्दै आएको थियो । अमेरिकी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकाहरुलाई थप २० हजार भिषा जारी गरिन्थ्यो । तर गत वर्ष आवेदन प्रक्रिया संसोधन गरेपछि भने अघिल्ला वर्षको तुलनामा बढी भिषा जारी हुने भएको छ । यस वर्ष कति भिषा जारी हुन्छ भन्नेबारे भने यूएससीआईएसले केही पनि बताएको छैन । एजेन्सी