फाइभजीको दौडमा अमेरिकाले जित्नुपर्छ : ट्रम्प

वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँचौं पुस्ताको इन्टरनेट फाइभजी नेटवर्कको दौडमा अमेरिकाले जित्नुपर्ने बताएका छन् । शुक्रवार फेडेरल कम्युनिकेशन कमिशनमा बोल्दै ट्रम्पले फाइभजीको दौड शुरू भइसकेको र त्यसमा अमेरिका विजयी हुनुपर्ने बताएका हुन् । सो क्रममा उनले केही फाइभजी नेटवर्कका आविष्कारको पनि घोषणा गरेका थिए ।

ट्रम्पले यस वर्षको अन्तिमसम्म अमेरिकाका ९२ बजारमा यो सेवा शुरू गरिने बताएका छन् । यससँगै अमेरिकाले यो दौडमा दक्षिण कोरियालाई पछि पार्नेछ । वर्षको अन्तिमसम्ममा दक्षिण कोरियाका ४८ शहरमा यो सेवा शुरू गरिनेछ । ट्रम्पले अहिले वायरलेस कम्पनी फाइभजी नेटवर्कमा २ खर्ब ७५ अर्ब डलर लगानी गर्ने तयारीमा रहेको बताए । यसबाट ३० लाख रोजगारी थपिने र अर्थतन्त्रमा ५ खर्ब डलर थपिने उनको विश्वास छ ।

अमेरिकामा एटी एन्ड टी र भेरिजोन कम्पनीले फाइभजी सेवाको शुरुआत गरिसकेका छन् । साथै, वर्षको उत्तरार्धमा यो सेवा शुरू गर्ने टी–मोबाइल र स्प्रिन्टको तयारी छ । पहिलोपटक फाइभजी सेवा शुरू गर्ने मामिलामा दक्षिण कोरियाली कम्पनी एसके टेलिकम, केटी र एलजी यूप्लसले अमेरिकी कम्पनीलाई २ दिनले उछिनेका थिए । एजेन्सी