सहनशीला छिन् रविना

अमेरिका आएको १३ वर्षमा नारायण र रविना थापा दम्पतीले आफूहरुलाई व्यावसायिक र सामाजिक क्षेत्रमा राम्ररी स्थापित गरिसकेका छन् । नेपालमा पोखरा घर भएको यो जोडी अमेरिकामा भने बाल्टिमोरमा बस्छ । नारायण थापा अहिले कस्केली समाज अमेरिकामा अध्यक्ष छन् । नेपाल जनसम्पर्क समितिका पूर्व केन्द्रीय सदस्य उनी समितिको सल्लाहकार पनि हुन् । बाल्टिमोर एसोसियसन अफ नेपलिज इन अमेरिका (बाना) मा नारायण संस्थापक सदस्य हुन् भने रविना उक्त संस्थाको सभापति भइसकेकी छन् । मिलनसार स्वभावका थापा दम्पती डिसी र वरपरको क्षेत्रमा पनि समाजसेवीका रुपमा परिचित छन् । यही जोडीसँग नेपालय पाक्षिकको नियमित स्तम्भ जीवनसाथी संवादका लागि विष्णुप्रसाद पौडेलले गरेको कुराकानी ।

rabin and narayan thapa

यो जोडीको भेट कसरी भयो ?
नारायण –  हाम्रो घर पोखरा हो । मेरो बुवा र उनको बुवाको राम्रै चिनजान थियो । मेरो बुवा अनि उनको बुवा दुवैजना टिचर हुनुहुन्थ्यो । दुवैजना साथी भएको नाताले आउनेजाने क्रममा नै बुवाहरुकै कारणले हाम्रो भेट भएको थियो । बुवाहरु साथी नभएको भए हामी जीवनसाथी हुँदैनथ्यो कि ?
भनेपछि मागी बिहे गर्नु भयो ? कि लभ हो ?
रविना –  हामीहरुको चिनजान पहिलै भए पनि विवाहचाहिँ मागी भएको हो ।
बुवाहरु साथी र तपाईंहरुबीचको चिनजानमात्रै बिहेको कारण हो त ?
नारायण –  खासमा भन्नुपर्दा उनलाई मैले विवाह गर्नु भन्दानी पहिले नै मन पराएकाले थिएँ । त्यसमा पनि उनी सुशील स्वभावकी सामाजिक काममा सक्रिय भए पनि गृहिणी महिलामा हुनुपर्ने गुणहरु सबै भएकी र हामीहरुको संस्कार जात सबै मिलेकाले म लगायत बुवा आमालाई पनि मन परेकाले हाम्रो विवाह गरिएको हो ।
रविना –  उहाँसँग पहिले नै मेरो चिनजान भइसकेको थियो । त्यसमा पनि उहाँ एकदम भलादमी, सिम्पल खालको । केटा मान्छेमा हुनुपर्ने गुणहरु सबै उहाँमा भएकाले परिवारका सबै सदस्यले उहाँलाई मन पराए । मैले पनि मन पराएँ । अनि सबैको सल्लाहमा हाम्रो विवाह गरियो ।
नारायणजीलाई रविनाजीको सबैभन्दा मन पर्ने कुरा के लाग्छ ?
नारायण –  उनका धेरै नै राम्रा गुण छन् । यसोभन्दा उनको धेरै मैले प्रशंसा गरेजस्तो पनि हुन सक्छ । सबभन्दा मनपर्ने कुरा त उनमा धेरै सहनशीलता छ । विवाह गर्दा उनको उमेर १८,१९ वर्षको थियो । त्यो बेलादेखि नै उनले मलाई सयंम भएर काम गर्नुपर्दछ भन्थिन् । त्यसैअनुरुप म अगाडि बढ्थें । उनको त्यो बानी मलाई साह्रै मन पर्छ ।
अनि रविनाजीलाई आफ्नो जीवनसाथीको कुन बानी मन पर्छ ?
रविना – उहाँ झट्ट हेर्दा एग्रेसिप स्वभावको जस्तो लागे पनि उहाँ त्यस्तो स्वभावको हुनुहुन्न । उहाँ मनको एकदमा सफा मान्छे हुनुहुन्छ । त्यो बानी मलाई एकदम मन पर्छ ।
मन नपर्ने बानी पनि होला नि ?
रविना – उहाँ घरीघरी झनक्क रिसाउनुहुन्छ । तर, उत्ति नै खेर कुल भइहाल्नुहुन्छ ।
n and r

नारायणजी के भन्नुहुन्छ ?
नारायण –  खासमा रविनाको नराम्रो बानी त केही पनि छैन । तर, कहिलेकाही बिहान ढिलो उठ्ने बानी छ । त्यसमा मेरो अलि गुनासो रहन्छ ।
तपाईहरु दुवैजना सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । व्यवसाय पनि छँदैछ । घरमा बच्चाहरुलाई कत्तिको टाइम दिनसक्नुभएको छ ?
नारायण –  हाम्रा दुइटा छोरा छन् । उनीहरु सानो हुँदा हामीले पालैपालो टाइम दिएका थियौं । अहिले ठूलो छोरा २२ वर्षको भयो भने सानो छोरा १७ वर्षको भयो । उनीहरु एकदम ज्ञानी छन् । उनीहरु आआफ्नै लाइनमा हिँड्छन् अहिले त हामीहरुले घर आऊ स्कुल जाऊ भन्नबाहेक केही भन्नुपर्दैन । त्यस हिसाबले हामीलाई त्यस्तो केही समस्या छैन ।
बुवाले समय दिनुभएन भनेर गुनासो गर्दैनन् ?
रविना –  त्यस्तो गुनासोचाहिँ गरेका छैनन् । किन कि हामीहरुले आफ्नै बिजनेस गरयौं । त्यस कारणले हामीलाई समय निकाल्न पनि गाह्रो भएन । छोराहरुले भनेको जुनसुकै बेला पनि हामीहरु उनीहरुलाई समय दिन्थ्यौं । त्यस हिसाबले उनीहरु हामीसँग खुसी छन् ।
नारायणजीले पहिरनमा कत्तिको ध्यान दिनुहुन्छ ?
रविना –  उहाँ ड्रेसअपमा एकदम ध्यानदिनुहुन्छ । उहाँलाई ब्रान्डको कपडा लगाउन मन पर्छ । त्यो उहाँको पहिलेदेखिको बानी हो । ड्रेसपमा त उहाँ म्याचिङ ड्रेस लगाउनुहुन्छ ।
खानपिनमा उहाँलाई मन पर्ने परिकार के हो ?
रविना –  उहाँलाई खानामा यही मन पर्छ भन्ने छैन । सबै परिकारहरु मन पराउनुहुन्छ । तर पनि विभिन्न देश विदेशतिर घुमेको हुनाले उहाँलाई जापानी खाना अलि बढी मन पर्छ ।
रविनाजीको पहिरनबाट नारायणजीको कमेन्ट के छ ?
नारायण –  पहिरनमा उनले छानीछानी लगाउँछिन् । हुँदा सितीमिति उनले नराम्रो लगाउदिनन् ।
family r and n

किचनमा कतिको सघाउनुहुन्छ ?
नारायण –  दाम्पत्य जीवनमा गुजारा गर्न ानो पुरानो बाउबाजे पालाको जस्तो सामन्ती पारा जसरी नचल्ने हुँदा म त भाँडा समेत माझ्दछु । उनले पकाउन लागेकी छन् भने काटकुट गर्दछु । उनले काटकुट गरेकी छन् भने म पकाइदिन्छु ।
उहाँले पकाएको कुनचाहिँ चिज तपाईलाई सबैभन्दा मिठो लाग्छ ?
रविना –  धेरैजसो सबै भेजिटेबल राखेर ससेजहरु भुट्नुहुन्छ । त्योचाहिँ मलाई साहै मन पर्छ ।
अन्तमा नेपालय पत्रिकामार्फत केही भन्न चाहनुहुन्छ कि ?
नारायण –  हालसम्म हाम्रो दाम्पत्य जीवन सुखमय तरिकाले नै बितेको छ । दाम्पत्य जीवन बिताउँदा एकअर्कोमा समझदारी हुनुपर्छ । सुख दुःखमा, आरोह अवरोहमा एकअर्कोप्रति साथ रहिरहनुपर्छ । यसले गर्दा सबको दाम्पत्य जीवन सुखमय हुन जान्छ भन्ने अनुभव यहाँहरुको पत्रिकामार्फत व्यक्त गर्न चाहन्छु ।
रविना –  मेरा हरेक कामहरुमा मलाई उहाँले सधै साथ दिँदै आइरहनुभएको छ । यसको लागि म उहाँ प्रति धेरै नै आभारी छु । म उहाँको साथ बेगर यतीका समाजसेवाका कामहरु गर्ने सक्थीन होला ? कतिपय मान्छले महिला भएपछि घरभित्रका कामहरुमात्र गर्नुपर्छ भनेर घरभित्र मात्र राख्छन् तर, मेरो श्रीमान्ले त्यो कुरामा चाहिँ बन्देज गर्नुहुन्न । उहाँले यस धर्तीमा जन्म लिएपछि केही न केही सामाजिक कामहरु गरेर छोड्नुपर्दछ, समाजमा आफूूले केही गरेर छोड्यो भने एकदिन अवश्य नै मूल्यांकन हुन्छ, भन्नुहुन्छ । मलाई मेरो भावनासँग मिल्ने यस्तो खालको श्रीमान जुटाइदिएकोमा भगवानप्रति समेत धन्यवाद दिन चाहन्छु ।