न्युयोर्कमा मिथिला सांस्कृतिक सांझ सम्मपन्न

नेपालय, न्युयोर्क ।

नेपाली कन्सुलेट जनरल न्युयोर्कर नेप्लिज अमेरिकन फाउण्डेसनव्दारा संयुक्त रूपमा अप्रिल १२ मा न्युयोर्कमा मिथिला सांस्कृतिक सांझको आयोजना गरिएको छ ।

नेपालको प्रसिद्ध मिथिला क्षेत्रको कला र संस्कृतिलाई विश्व सामु चिनाउने तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले अप्रिल ८ देखि १२ सम्म आयोजना गरिएको मिथिला महोत्सवको समापन समारोह संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि राईले नेपालका विभिन्न कला तथा संस्कृतिलाई विश्वसामु परिचित गराउन आवश्यक रहेको वताउंदै मिथिला कला र संस्कृतिको ऐतिहासिक तथा धार्मिक महत्वका वारेमा प्रकाश पार्नुभएको थियो । कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले कार्यक्रम आयोजनाको उद्देश्यमाथि प्रकास पार्दै कन्सुलेटले नेपालको विविध भाषा भाषी, साहित्य र संस्कृतिको सम्बर्द्धन तथा प्रवर्द्धनमा कार्यक्रम आयोजना गर्ने गरेको र भविष्यमा पनि यस्ता महत्वपूर्ण कार्यक्रमहरू आयोजना गरिने कुरा अवगत गराउनुभएको थियो । यसैगरी नवल यादवले मिथिला कला तथा संस्कृतिको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा PATA New York Chapter तथा Greater New York Chamber of Commerce का लगभग २०० प्रतिनिधिहरू तथा लगभग १०० जना स्थानीय नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रसिद्ध नेपाली गायक तथा कलाकार मुरलीधर लगायत अन्य स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति देखाएका थिए । कार्यक्रममा मिथिला संस्कृतिको अतिरिक्त मिथिला क्षेत्रको खानाको पनि प्रवर्द्धन गरिएको थियो । साथै अप्रिल १२ लाई मिथिला दिवसको रूपमा घोषणा गर्नका लागि New York City Council मा प्रस्ताव पेश गर्ने कुरा Council Member Costa Constantinidesले जानकारी गराएका थिए ।
न्यूयोर्कमा अप्रिल महिनाको ८ देखि १२ तारेख  चैत्र २५ देखि २९ सम्म मिथिला फेष्टिवलको आयोजना गरिएको थियो । फेष्टिवलको पहिलो दिन अप्रिल ८ मा संयुक्त राष्ट्र संघ भवनमा मिथिला कलाको प्रदर्शनी गरिएको थियो । संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले संयुक्त रूपमा सो प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । प्रदर्शनीमा कलाकार अजित साह र जनकपुर नारी विकास केन्द्रका महिला कलाकारहरूव्दारा तयार गरिएको पेन्टिङहरूको प्रदर्शनी गरिएको थियो । कार्यक्रमको सञ्चालन अमित शाहले गर्नुभएको थियो ।