नबिराउनु, नडराउनु

नेपालमा चल्तीको भनाइ छ नबिराउनु नडराउनु । नखाएको विष लाग्दैन भन्ने पनि अर्काे भनाइ छ । यो अमेरिकाको अहिलेको सन्दर्भमा नेपालीकै लागि लागु होला । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन सम्बन्धमा जुन खाले आदेशहरु जारी गरे त्यसले एकखालको भय र त्रास पैदा गरेको छ । तर हामी भन्छौं, ‘नबिराउनु नडराउनु ।’ ट्रम्पको आदेशको हकमा पनि भन्न त्यही सकिन्छ, नबिराउनु नडराउनु ।
अवैध रुपमा बस्नु आफैंमा बिराउनु हो । त्यसो गर्दा कारबाही हुन्छ, देश निकालामा परिन्छ भने कोकोहोला मच्चाउनुको अर्थ हुँदैन । ट्रम्पका कुरा मन नपर्ला, ट्रम्प मन नपर्लान् । तर उनले अवैधलाई मान्दिन र विधि लागु गर्छु भनेको छ ठिक कुरा हो । अर्काको घरमा जबरजस्ती घुसेर बस्न दिनैपर्छ भन्न सुहाउँछ कि सुहाउँदैन ? कि आफ्नो घरमा बस्ने नसक्ने भएर टिकिखान नभए शरण माग्नु बेग्लै कुरा । तर नेपाल र नेपालीका हकमा आज न मुलुकमा द्वन्द्व छ न त कुनै अरु अप्ठेरो । देश गरिब होला, तर कसैलाई कसैले खेदेको अवस्था नेपालमा छैन र नेपाल युद्धग्रस्त देश पनि होइन । देश गरिब छ भनेर जसरी पनि धनी देशमा बस्न पाउनुपर्छ भन्नुचाहिँ मूर्खतै हो । के बाआमा गरिब भए भनेर तिनको काख छोडेर धनी बाआमा खोज्न सकिन्छ । देश भनेको पनि त्यही हो ।
अमेरिकामा बस्नका लागि जे जस्तो गलत जानकारीमूलक भए पनि कागजात पेस गर्ने नेपालीहरुको जुन प्रवृत्ति छ, छातीमा हात राखेर भनौं के त्यो जायज र नैतिकवान काम हो ? हुँदै नभएको पीडा देखाएर सिम्प्याथी लिनु नैतिकवान व्यक्तिले नगर्ने कर्म हो । त्यसो भएको हुँदा अवैध भएर नि बस्न पाउनुपर्छ, गलत जानकारीमूलक कागजातलाई पनि मान्यता दिनुपर्छ भन्न सुहाउँदैन । हामी नेपाली जाति स्वाभिमानी जाति हौं । पैसाका लागि जे पनि गर्ने जाति बन्नु हुँदैन ।
तर हामी अन्तर्राष्ट्रिय मानव जातिका हिसाबले चाहिँ के भन्न सक्छौं भने कसैलाई पनि धर्मका आधारमा, जातका आधारमा वा राष्ट्रियताका आधारमा भेदभाव गर्नु हुँदैन । पचासौं लाख खर्च गरेर अमेरिका आउनुभन्दा नेपालमै त्यतिका पैसा लगानी गर्नु जाति पनि हो, त्यसैले मेक्सिको लगायत भागबाट आउनै परेन । अवैध हुनै परेन । फेरि पनि भन्छौं, ‘नबिराउनु नडराउनु ।’ जस्तो सुकै कडा नीति र नियम भए पनि केही बिगार नगर्नेलाई केही हुँदैन । ढुक्क बनौं ।