पूर्वजन्मकै कारण हाम्रो मिलन

विनोद रोकाको जन्म खोटाङमा भएको हो । उनले विद्यालय तहको अध्ययन गाउँमै गरे । त्यसपछिको अध्ययन गर्न उनी राजविराज गए र आइएल पढे । काठमाडौंमा बिएल पढी काठमाडौंमा नै बसोबास गर्ने थाले । सन् १९९८ मा उनी अमेरिका छिरेका हुन् । संयोग के परेछ भने उनी अमेरिका पाइला टेकेको दिन अप्रिल ५ तारिखमा उनको जन्मदिन थियो । त्यसैले उनी दोस्रो जन्मदिन अमेरिका आएकोलाई मान्छन् ।
नेपालमा हुँदा १२‍,१३ वर्ष सर्वोच्च अदालतमा अधिवक्ताको रुपमा काम गरे । त्यतिबेला ‘न्याय प्रतीक’ भन्ने कानुनी त्रैमासिक पत्रिका चलाउँथे । उनी त्यो बेला सर्वोच्च बारको सचिव थिए । नेपाल बार एशोसियसनको केन्द्रीय सदस्य भए । नेपाल बार एसोसियसनमा डेमोक्रेटिकको तर्फबाट महासचिवको उम्मेदवार पनि भएका थिए । नेपाल बारको जर्नल ‘न्यायदूत’ को सम्पादक र प्रकाशक मण्डलमा थिए उनी । अहिले संविधानसभा अध्यक्ष रहेका सुवास नेम्वाङ त्यतिबेला एसोसियसनमा सचिव हुँदा उनी त्यो समितिको कार्यकारी सदस्य थिए । दमननाथ ढुंगाना हुँदा पनि काम गरे विनोद रोकाले ।
१९९८ पछि बहुदलीय व्यवस्था आइसकेपछि न्यायसेवामा भ्रष्टाचार, भनसुनका कारणले जुन लथालिंग अवस्था आयो, इमान्दार मान्छे पनि कोही न कोहीको खेमामा नभए केही नपाउने अवस्था आयो । त्यसपछि अब केही शिक्षा लिनुपर्छ, बाहिर जानुपर्छ भन्ने लागेर श्रीमती मेनुका रोकासहित अमेरिका आएका हुन् विनोद ।
दुई छोरी र एक छोराका साथ न्युयोर्कमा बसोबास गरिरहेका विनोद रोका प्रवासमा कानुनी व्यवसायीको रुपमा मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय व्यक्ति हुन् । साहित्यमा पनि सक्रिय रोकाका गीतहरुमा दर्जनौं कलाकारहरुले स्वर दिइसकेका छन् । विभिन्न पुस्तक प्रकाशनमा ल्याएका रोकाको जीवनशैली पनि ज्यादै सरल र मिलनसार छ । न्युयोर्कमा हुने नेपाली कार्यक्रममा ढाका टोपी लगाएर उपस्थित हुनु र चोटिला टुक्का भन्ने उनको विशेषता हो । उनै विनोद र उनकी श्रीमती मेनुका रोकाँसँग गरिएको जीवनसाथी संवाद ।

तपाईंहरुको भेट कसरी भयो ?Binod Roka (2)
मेनुका – मेरो भिनाजु र उहाँ साथीसाथी हुन्नुहुन्थ्यो । उहाँले बिहे गर्ने क्रममा बिएसम्म पढ्दै गरेकी केटी खोज्नुभएको रहेछ त्यसैक्रममा भिनाजुकै माध्यमबाट सम्पर्क भयो । त्यतिबेला म पाटन क्याम्पसमा बिए पढ्दै थिएँ ।
 त्यतिबेला तपाईंलाई यस्तो केटा चाहियो भन्ने केही त्यस्तो थियो ?
मेनुका ‍- त्यस्तो त थिएन । उहाँहरु मलाई हेर्न आउँदा मैले चियाएर हेरेकी थिएँ । उहाँलाई पहिलोपटक देखेको त्यति नै बेला हो । मेरोभन्दा पनि मेरो दाइको बानी व्यहोराले उहाँलाई प्रभावित पारेको रहेछ ।
तपाईंले के देखेर उहाँलाई मन पराउनुभयो ?
मेनुका – उहाँ त वकिल हुनुहुन्थ्यो नि त । हामी त बर्मामा जन्मेका । बर्मा र अमेरिकामा डाक्टर र वकिल भनेका निकै ठूलो मान्छे हुन भन्ने मान्यता थियो । पूर्वजन्ममा हाम्रो केही थियो होला सायद त्यही भएर हाम्रो भेट भयो । उहाँ ह्यान्डसम पनि हुनुहुन्थ्यो ।
 दाइलाई चाहिँ पहिलोपटक मेनुका भाउजू देख्दा कस्तो लागेको थियो ?
विनोद – उनी सुन्दर पनि थिइन् । म त खोटाङको पहाडी गाउँबाट आएको मान्छे । यत्तिको पढेकी केटी पछि पहाडै गइयो भने पनि ठिकै हुन्छ जस्तो लागेको थियो ।
घरमा बाबाआमाले छोराले यस्ती बुहारी ल्याइदिए हुन्थ्यो भन्नु थियो कि ?
विनोद – उहाँहरु परम्परागत केटी होस् । घाँस दाउरा पनि गर्ने खालकी होस् भन्ने चाहनुहुन्थ्यो होला । उहाँहरुले नै चाहेको जस्तो सत प्रतिशत चाहिँ भएन ।
घरमा लैजाँदा कस्तो प्रतिक्रिया पाउनु भयो त ?
विनोद – हाम्रो प्रेम विवाह नभए पनि मेलै मन पराएरै हामी आफैंले गरेको विवाह हो  । बाबाआमा काठमाडौं आउनुभएको थिएन । बिहे छिनेपछि उहाँहरुलाई काठमाडौं बोलाएँ र बिहे भयो । केही समय बसेपछि उहाँहरु जानुभयो । उहाँहरुले परम्परागत केटी खोज्नु भाथ्यो होला तर अस्वीकार चाहिँ गर्नुभएन ।
बिहे गरेपछि भाउजूले आफूले रोजेकै जस्तो मान्छे पाएँ जस्तो लाग्यो कि कस्तो लाग्यो ?
मेनुका – हो मलाई त्यस्तै लाग्यो ।
 बिहे अघि जे सोच्नुभाथ्यो त्यस्तै पाउनु भयो त ?
मेनुका – सुरुवातमा चाहिँ अलि गाह्रो भयो । काठमाडौंमा डेरा गरेर बसेका थियौं । त्यहीँ घर बनायौं । छोरीहरु भए । पछि उहाँलाई अमेरिका जाने इच्छा भयो । सँगै आइयो । यहाँ चाहिँ बुढालाई भन्दा बुढीलाई बढी गाह्रो हुँदो रहेछ काम गर्न । उहाँ पढाइमा लाग्नुभयो । मैले उहाँलाई सहयोग गर्न सकें । त्यसमा मलाई गौरव अनुभव हुन्छ ।
काठमाडौंमा हुँदा बच्चाबच्ची हेर्ने काम गर्न समय कसरी मिलाउनु भयो ?
मेनुका ः काम गर्ने मान्छे राखिएको थियो । सासु ससुरालाई पनि काठमाडौं बोलाएका थियौं । मैले पढाउने काम गर्थें । मेरो पृष्ठभूमि पश्चिमेली भएकाले केही कठिन त हुन्थ्यो । तर मिलाएका थियौं ।
दाइले घर परिवारमा कत्तिको समय दिनुहुन्थ्यो ?
मेनुका – दिनुहुन्थ्यो । बच्चाबच्ची पनि आफैंमा व्यस्त हुन्थे । समय दिनुभएन भन्ने त्यति गुनासो गर्नुपरेन ।Binod Roka (1)
दाइलाई घर परिवारमा कत्तिको समय दिए जस्तो लाग्छ ?
विनोद – हामी अमेरिका आउँदा छोरा १३, जेठी छोरी ११ र अर्की ९ वर्षकी थिई । उनीहरुलाई हामीले आमाको साथमा छोडेर यता आयौं । आमा परम्परागत हुनुहुन्थ्यो । त्यहाँ बाबाआमा नहुँदा उनीहरुले पक्कै अफ्ठेरो महसुस गरे । उनीहरु यता सन् २००३ तिर आएका हुन् । त्यो बीचमा हाम्रो ग्याप भयो । उनीहरुलाई छोडेर आएकोमा उनीहरु गुनासो गर्छन् । हामी यहाँ आएकाले उनीहरु नि आउन पाए राम्रो भयो । तर त्यो बाल्यकालमा आमाबाबुको जुन आवश्यकता हुन्थ्यो त्यो पूरा नभएकोमा उनीहरुको गुनासो छ ।
दाइलाई भाउजूको मन पर्ने पक्ष के हो ?
विनोद – उनी मनमा कुरा राख्दिनन् । जे छ भनी हाल्छिन् । छिट्टै रिसाए पनि छिट्टै सामान्य अवस्थामा आउँछिन् । त्यो बानी राम्रो लाग्छ । अनि पाहुना आउँदा खुसी हुन्छिन् । पाहुनालाई ख्वाउन प्याउनमा रमाउँछिन् । त्यो पनि राम्रो लाग्छ ।
भाउजूको सुधार्नु पर्ने बानी केही छ कि ?
विनोद – छिट्टै रिसाउँछिन् त्यो चाहिँ अलि कम गरे अलि राम्रो हुने थियो कि ।
 भाउजूलाई दाइको के कुरा मन पर्छ ?
मेनुका – उहाँका सबै बानी राम्रो छ ।
 मन नपर्ने बानी चाहिँ के छ ?
मेनुका – म सबै पाहुनालाई भगवान सरह मान्छु तर उहाँले सबैलाई त्यसरी हेर्नु हुन्न । अनि उहाँ साहित्यिक कार्यक्रममा धेरै समय दिनुहुन्छ । त्यसमा लागेको चाहिँ मलाई त्यत्ति मन पर्दैन ।
 भाउजू बर्माबाट काठमाडौं कहिले आउनु भयो ?
मेनुका – हामी विसं २०२८ तिर हुनुपर्छ । ७ जना दाजुभाइ दिदीबहिनी थियौं । विराटनगर, धरान हुँदै नवलपरासीमा सेटअप भयौं । मैले स्कुल चाहिँ हेटौंडामा पढें । काठमाडौं आएर पाटन र पद्मकन्या क्याम्पसमा पढें ।
भाउजूलाई दाइको मन नपर्ने बानी चाहिँ के छ ?
मेनुका – बाहिर नजाने बानी छ त्यही हो ।
 खानामा उहाँको रुचि कस्तो छ ?
मेनुका – उहाँलाई जे जस्तो बनाएर दिए पनि खानुहुन्छ ।
 पहिरन नि ?
मेनुका – सबै सपिङ गर्ने मैले नै हो । खासै सौख छैन ।
दाइले भान्छामा कत्तिको सहयोग गर्नुहुन्छ ?
मेनुका – म फुर्सद मिल्दा सहयोग गर्छु ।
भाउजूले बनाउने सबैभन्दा मीठो परिकार के लाग्छ तपार्ईंलाई ?
विनोद – बर्मेली खाना स्वादिस्ट हुन्छ ।
मेनुका – बर्मेली र यो पनि एउटा संयोग रहेछ । उहाँले विपश्यनाको ध्यान लिएको गुरु पनि बर्मेली त्यसैले पूर्वजन्ममा केही रहेछ कि जस्तो लाग्छ मलाई हाम्रो मिलन हुनुमा ।Roka Dampati ka Santan

अरु केही छ भन्नु ?
विनोद ‍- अब हामी यहाँ छौं । यहाँ बसेपछि यतैको वातावरणमा घुलमिल हुनुपर्छ । यहींको कुरा सिक्नुपर्छ । अनि जीवन सहज हुन्छ । तन यहाँ मन नेपालमा भयो भने दुःखी भइन्छ । हाम्रा छोराछोरी हामीसँग छैनन्, बाहिर पढिरहेका छन् । हामी दुई मात्र सँगै छौं । तुरन्तै नेपाल फर्किने स्थिति पनि छैन ।
अब समाजमा राम्रो काम गरेर पनि जस छैन । तै पनि हामी जान्ने मान्छेले पनि गरेनौं भने कस्ले गर्ने भन्ने ठानेर केही गरिरहेको छु ।
पहिलेपहिले छोराछोरीले हाम्ले भनेको मानेनन् जस्तो ठान्थिन् उनी । मलाई चाहिँ त्यस्तो लाग्दैन । अब यहाँ आएपछि सबै कुरा यतैको जस्तो हुन्छ । लवाईखवाई सबै कुरा । संस्कार नेपालको जस्तो होस् भनेर हुँदैन । यहाँ आएपछि यतैको संस्कृति ग्रहण गर्छन् । हामी जतिसुकै परम्परागत भएपनि हाम्रो बाउआमाले भनेको जस्तो हामीले गरेनौं भने हाम्रा सन्तानले पनि त्यसो गर्दैनन्, गरेनन् भनेर गुनासो गर्नु हुँदैन ।

                                                                                                                     प्रस्तुती – विष्णु प्रसाद पाैडेल