ट्रम्पको आगत

डोनाल्ड ट्रम्पको नामको अगाडि राष्ट्रपति भन्ने पद नै आउँदैन भन्ने अनुमान गलत सावित भइसक्दा अहिले भने उनी कतिन्जेल राष्ट्रपति रहिरहलान् भन्ने चर्चा चल्न थालिसकेको छ । राष्ट्रपति भएको एक महिनायताका उनका गतिविधिले यस्तो चर्चा चलाएका हुन् । अमेरिकी इतिहासमै राष्ट्रपति निर्वाचित भइसकेपछि बीचैमा कार्यकाल छोडेको र कार्यकाल पूरा नहुँदै पदावधिबारे संशय सुरु भएको केवल एउटा उदाहरण छ । पदावधि नसकिँदै राष्ट्रपतिबाट मुक्त भएको पनि त्यही उदाहरण हो, रिचार्ड निक्सनको । त्यो संसारभरिकैले जान्दछन् कि वाटरगेट काण्डको परिणाम थियो ।
विपक्षीहरुको चुनावी रणनीति जान्ने गरी टेप रेकर्ड गराएको तथ्य जब वासिङटन पोस्टले सार्वजनिक गरिदियो सन् १९७३ मा दोस्रो चोटि निर्वाचित भएका निक्सनले अर्काे वर्ष राजीनामा दिनुपरेको थियो । अमेरिकी संविधानको व्यवस्था अनुसार कार्यकाल छँदाछँदै पदमुक्त हुने ३ कारणमात्र सम्भव हुन्छन्—मृत्यु, राजीनामा र महाभियोग । कालगतिले पनि कसैको मरण नहोस् भन्ने कामना गर्छ हाम्रो मानव समाज । त्यसैले कसैका हकमा पनि मृत्युको परिकल्पना गर्नु अमानवीयता हुन्छ । डोनाल्ड ट्रम्पका सन्दर्भमा उनीमाथि महाभियोग लाग्न सक्ने र उनी आफैंले बीचैमा राजीनामा दिन सक्ने सम्भावनाका तर्कहरु राजनीतिक वृत्तमा आइसकेका छन् ।
राजीनामा उनकै मर्जीको बात हो । यसबारे उनै जानून् । महाभियोग चाहिँ ठूलै दोषारोपण बिना सम्भव हुने कुरा होइन । ट्रम्पलाई रसियासँगको सम्बन्ध र राष्ट्रहित विपरीतका कर्मको अभियोगलाई महाभियोगै बनाउन सकिने तर्क र चर्चाले राजनीतिक वृत्त गर्माउने संकेत देखापरिरहेका छन् । कुनै पनि हालतमा अन्त राष्ट्रसँगको अनुचित साँठगाँठ अमेरिकाको हितमा हुँदैन । यदि ट्रम्पले रसियासँग त्यसो गरेका हुन् भने र त्यस्तो प्रमाणित हुने हो भने उनको आगत अर्थात भविष्य भनेको कार्यकाल नसकिँदै राष्ट्रपतिबाट बहिर्गमनै हुनसक्छ । झन् यही बेला उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिइसकेका छन् । यसबाट उनलाई ठूलो झट्का मिलिसकेको छ ।
उनी सत्ताको बलशाली अवस्थामा रहिरहँदा अनुसन्धान कठिन पनि होला, तर समर्थकहरुले छोड्न थाले र टाढिन थाले भने प्रमाणहरु बाहिर आउन पनि सक्छन् । यिनै यिनै कुराले ट्रम्पको आगत अर्थात आउने दिनहरु कस्ता हुनेछन् भन्ने निर्धारण हुन्छ । ट्रम्पले रसियासँग आफ्नो सम्बन्ध असत्य भन्दै आएका छन् । हिलारीको हारका कारण गलत समाचारहरु उछालिएको पनि उनको तर्क छ । हामीचाहिँ अनुसन्धानबाट त्यसको पुष्टि होला, अहिले यसै भन्न सकिन्न भन्छौं । समयले सबै छर्लङ्ग पार्ने नै छ । अहिलेलाई प्रतीक्षाको कुनै उपाय छैन ।