सिरियाविरुद्ध अमेरिकाको पहिलो सफल क्षेप्यास्त्र कारबाही

बी.के नेवा ।
सिरियाविरुद्ध अमेरिकाले पहिलो पटक क्षेप्यास्त्र आक्रमण गरी २० प्रतिशत सैन्यविमान ध्वस्त पारिदिएको छ । अमेरिकाले ५९ वटा क्षेप्यास्त्र प्रहार गरी सिरियालाई कडा जबाफ दिएपछि सिरियाली नेतृत्व संकटमा पर्दै छ ।
सिरियाली जनतामाथि विषालु ग्यास आक्रमण गरी ८७ जनाको ज्यान लिनुका साथै सयौँलाई घाइते बनाएको वदलास्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सिरियाविरुद्ध पहिलो पटक सैन्य कारबाही गरेको अमेरिकी यो कदमले रुस पनि अप्ठेरोमा परेको छ । सिरियाली राष्ट्रपति बसर अल असदको सत्ता टिकाउन प्रमुख सहयोगी बनेको रुस पनि विषालु ग्यास आक्रमणमा संलग्न भएको भन्ने आरोप लागेको छ । तर रुसले सो आरोप खण्डन गरेको छ ।
अमेरिकाले गरेको क्षेप्यास्त्र आक्रमणको सही निसानाले के स्पष्ट गरेको छ भने अब अमेरिकाले चाहने हो भने असदको सत्तालाई जुनसुकै बेला पनि ढालिदिन सक्छ । यसमा रुस कति दिन रक्षा कबच भएर बस्ने ? प्रश्न गम्भीर बन्दै छ । सिरियाकै कारण रुस र अमेरिकाबीचको सम्बन्ध पनि खटपट भएको छ । त्यसैले यो समस्याको छिटोभन्दा छिटो समाधान गरी सिरियाली युद्ध समाप्त पार्नुपर्छ नत्र अरु लाखौँ मानिसको अकालमा ज्यान जाने छ ।
वास्तवमै सिरियाली द्वन्द्व यति लामो समय लम्बिएला भन्ने धेरैलाई लागेको थिएन । अरब क्रान्तिबाट उत्साहित भएर सन् २०११ को मार्चदेखि विपक्षीहरुले असदलाई सत्ताच्युत गर्ने भनी आन्दोेलन थालेका हुन् । तर असदको सत्ता ट्युनेसिया, इजिप्ट,लिविया र यमनमा जस्तो गरी ढलेन । विपक्षीहरुको आन्दोलन कमजोर बन्दै गएपछि पश्चिमी मुलुकहरुले हतियार र डलर सहयोग गरे । सरकार र विपक्षी दुवैले हतियार चलाउन थालेपछि आन्दोलन गृहयुद्धमा परिणत भयो जसले गर्दा यो अवधिमा साढ तीन लाखभन्दा बढी मानिसको ज्यान गुमाइसकेका छन् भने पाँच लाखभन्दा घाइते भएका छन् । एक करोड मानिस विस्थापित भएका छन् । लाखै मानिस ज्यान जोगाउन विस्थापित भई शरणार्थी छिमेकी मुलुकहरुमा शरण लिइरहेका छन् । शरणार्थीमध्ये आधा बालबालिका र बृद्धबृद्धा छन् । युद्धमा अर्बौ डलरको भौतिक क्षति भएको छ । तर पनि अहिलेसम्म युद्ध रोकिएको छैन । पछिल्ला दिनमा विपक्षीहरुको शक्ति कमजोर भएको र सरकारी सेनासँग हरेक मोर्चामा पराजित हुँदै पछाडि धेकेलिएकोमा पश्चिमी मुलुकहरु चिन्तित छन् । रुस र चीनको दह्रो समर्थन र सहयोगका कारण असदलाई हटाउन नसकिएको हो । तर पछिल्लो समय रुस र चीनको समर्थन पनि क्रमशः कमजोर बन्ने अवस्थामा छ ।
वास्तवमै सिरियाको हिंसा एक्काइसौँ शताब्दीकै कलङ्क हो । एउटा सत्ताधारी नेतालाई हटाउने नाममा यति धेरै नरसंहार भएको यो शताब्दीकै यो ठूलो घटना हो । यति ठूलो मूल्य चुकाउँदा पनि सिरियामा सत्ता परिवर्तन हुन नसक्नु अरब क्रान्तिको अर्को विफलता हो ।
सिरियाली सङ्कट समाधान गर्न संयुक्त राष्ट्र सङ्घ र अरब लिगले मध्यस्थताका लागि पटक पटक प्रयास गरे । तर सफलता मिलेन । आफूविरुद्धको आन्दोलनले यतिधेरै जनधनको क्षति पुगिसक्दा पनि र पश्चिमी मुलुकहरुले विरोध गर्दा पनि कुनै पनि हालतमा पनि सत्ता नछाड्ने असदको अडान साथै सरकार र आन्दोलनकारीबीच पटक पटक भएको निश्कर्षहीन वार्ताले सिरियाली सङ्कट अरु गहिरिँदै छ । यही द्वन्द्व नै विदेशी शक्ति राष्ट्रहरुका लागि क्रीडास्थल बनेको छ भने आईएस स्टेटजस्ता आताङ्कवादी सङ्गठनहरुलाई आतङ् मच्चाउने अवसर बन्न पुगेको छ । यही अवस्था रहने हो भने सिरिया असफल राष्ट्र बन्न बेर छैन ।विपक्षी आन्दोलनले सत्ता परिवर्तन गर्न नसक्दा सरकार झन् बढी दमनमा उत्रेको छ । सरकारले आन्दोलनकारीका जायज माग सम्बोधन गर्नुको सट्टा आन्दोलन दवाउन सम्पूर्ण राज्यशक्तिको प्रयोग गरेकाले परिस्थिति जटिल बनेको हो ।
करिब ४०० वर्ष अटोमन र त्यसपछि फ्रान्सको उपनिवेश बनी सन् १९४६ मा स्वतन्त्र भएको बहुभाषिक,बहुजातीय तथा बहुधार्मिक विधिधतायुक्त सिरिया हिमाल,उर्वरभूमि तथा मरुभूमिसहितको मुलुक हो । १ लाख ८५ हजार १८० वर्ग किमि क्षेत्रफलमा फैलिएको २ करोड १५ लाख जनसङ्ख्या रहेको यो मुलुकको मुख्य भाषा अरबी,मुख्य धर्म इस्लाम र इसाई हो । सन् १९७० मा हाफेज अल असदले सैन्य कु गरी सत्ता हातमा लिएपछि सिरियामा पारिवारिक तन्त्र चलेको छ । सन् २००० मा हाफेजको निधनभएपछि पैत्रिक विरासतमा सत्तासिन असदले सत्तालाई सर्वोपरि ठान्दा मुलुक इतिहासकै सबैभन्दा विध्वंशात्मक अवस्थामा पुगेको हो । आफूले सत्ता छाड्दा मुलुक नै डुब्छ भन्ने असदको दावीलाई समर्थकहरुले साथ दिए पनि पछिल्लो छ वर्षमा आन्दोलनका नाममा भएको जनधनको क्षति र आम जनताले भोगेको पीडा कहालीलाग्दो छ । यस्तो अवस्थामा सत्ताकै लागि मरिमेट्नु भन्दा उपयुक्त राजनीतिक विकल्प दिनु बुद्धिमानी हुन्छ । कुनै पनि शासकले जनतालाई लोकतान्त्रिक अधिकार नदिनु भनेको अन्ततः आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । यो कुरालाई आत्मसात् गर्दै गृहयुद्ध समाप्त गरी मुलुकलाईथप हिंसा र विध्वंश हुनबाट जोगाउन हो भने असदले आन्दोलनकारीसँगको जेनेभामा जारी वार्तालाई तार्किक निश्कर्षमा पुर्याउनुपर्छ । अतिवाद समस्याको समाधान होइन । यसले अर्को हिंसा निम्त्याउँछ । सिरियाली अतिवादले गर्दा नै त्यहाँको केही भूभाग आईएस स्टेटले आफ्नो कब्जामा लिई आतङ्कवादी गतिविधि बढाएको हो । आईएस स्टेटलाई समाप्त नपार्ने हो भने यसले सिरियालाई थप तहसनहस बनाउनेछ । त्यसैले आईएस स्टेटको आतङ्क समाप्त पर्न र जारी द्वन्द्वको राजनीतिक निकासका लागि सरकार र आन्दोलनकारी दुवै पक्ष सहमतिमा आउनुको विकल्प छैन । अब पनि सहमतिमा नआउनु भनेको आफू पनि सकिने र मुलुकको अस्तित्व समाप्त पार्नु हो । यो कुरालाई असदले राम्ररी बुझ्न आवश्यक छ ।