आदर्श जोडी बन्न चाहन्छौं

हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’ मा लेखक, निर्देशक र कलाकारको भूमिका निर्वाह गर्ने सीताराम कट्टेलको जन्म सोलुखुम्बुको जिल्लाको नेचा बेतघारीमा विसं २०४० सालमा भएको हो । उनी ११ वर्षको हुँदा उनको परिवार बसाइ सरेर झापा गौरादहमा गयो ।
कुञ्जना घिमिरे ललितपुरको चापागाउँमा जन्मेकी हुन् । ज्ञानकुञ्ज बोर्डिङ स्कुल ललितपुरमा पढेको कुञ्जनाले पद्मकन्या क्याम्पस र पाटन बहुमुखी क्याम्पसमा कलेज लेवलको पढाइ गरिन् । १० वर्षको चिनजानपछि ४ वर्षअघि वैवाहिक सम्बन्ध गाँसेको
यो जोडीको बसोबास हाल ललितपुरको खुमलटारमा छ । नेपाल सरकारले यो जोडीलाई सरसफाइदूत बनाएको छ । कार्यक्रमको सिलसिलमा अमेरिका आएका बेला यो चर्चित जोडीसँग नेपालयका लागि विष्णुप्रसाद पौडेलले गरेको कुराकानी
Dhurmus (3)नेपालय – तपाईं दुईजनाको भेट सुरुमा कसरी भयो ?
सीताराम –  दमन रुपाखेतीको टेलिसिरियल ‘लौ न सतायो’ बन्ने क्रममा हामी दुईको पहिलो भेट भएको हो ।
नेपालय –  तपाईं अनि तपाईंको परिवारमा बिहेको लागि यस्तै केटा भइदिए हुन्थ्यो भन्ने केही चाहना थियो होला नि ?
कुञ्जना –  म त्यतिबेला करियरको सुरुवाती चरणमा थिएँ । मेरो र परिवार दुवैको त्यतापट्टि कुनै ध्यानै थिएन । उमेर पनि भएको थिएन । त्यतिवेला मैले केही पनि सोचेकी थिइनँ ।
नेपालय –  सीतारामजीमा के देखेर मनपराउनुभयो त नि तपाईंले ?
कुञ्जना –  पहिलो कुरा त माया अन्धो हुन्छ भन्छन् । तर, हाम्रो माया अन्धो पनि थिएन । भेटेर आइ लभ यु भनेर माया बसेको होइन । भेट भएको १० वर्षपछि निर्णय गरेपछि मात्रै ३÷४ वर्षपछि मात्रै हाम्रो बिहे भएको हो । मैले सलमान खान जस्तो ह्यान्डसम, शाहरुख खानजस्तो क्युट फेस भाको खोजिनँ होला । सँगै काम गर्ने सहकर्मी, कर्मशील व्यक्तित्व, भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने, सकारात्मक विचार भएको, साहसी जो एउटी केटी मान्छेले केटा मान्छेबाट चाहन्छे त्यो देख्नेबित्तिकै राम्रो लागिहाल्छ । मलाई पनि तिनै कारणले उहाँ मन मरेको हो ।
नेपालय –  कुञ्जनाजीलाई पहिलो भेटमा देख्दा कस्तो लागेको थियो ?
सीताराम – सुरुमा मैले उनलाई सुुटिङको गाडीमा मेकअप गरिरहेको बेला देखेको हुँ । हँसिली, कुरा गरिरहने, फ््रयांक्ली, पहलोपटक भेट्दा पनि वर्षौंदेखि देखे चिने जस्ती थिइन ।
नेपालय – तपाईंको घरमा छोराले कस्ती बुहारी ल्याइदिए हुन्थ्यो भन्ने चाहना थियो ?
सीताराम –  त्यस्तो केही थिएन । म काठमाडौंमा संघर्ष गर्न आएको थिएँ । मैले जे गर्दा मेरा जिन्दगी राम्रो हुन्थ्यो त्यही कुरामा भर पथ्र्यो मेरो परिवार ।
नेपालय – बिहे गरेर घरमा लिएर जाँदा कस्तो प्रतिक्रिया पाउनुभयो त ?
सीताराम – उनीसँग कार्यक्रमको सिलसिलामा बिहे पहिले पनि भेट भएको थियो । बिहे पनि सबै परिवारकै एकै ठाउँमा भएर भएको हो । त्यसैले खासै नौलो केही भएन ।
नेपालय – तपाईंले बिहे अगाडि जे सोच्नु भएको थियो त्यस्तै पाउनुभएको छ ?
कुञ्जना – एकदमै । मैले सोचेकै जस्तो पाएकी छु । हरेक काममा सहयोगी । कलाकारितामा पनि मैलेभन्दा बढी तिमीले गर्नुपर्छ भनेर प्रेरणा दिइरहनुहुन्छ । मलाई पहिले एउटै क्षेत्रको मान्छेसँग बिहे गर्दिन जस्तो लाग्थ्यो । समझदारी हुँदैन जस्तो लाग्थ्यो । तर अहिले उहाँसँग बिहे भइसकेपछि भने मैले उहाँलाई बिहे नगरेको भए चाहीं बरबाद हुने रहेछ भन्ने लाग्छ । Dhurmus (4)
नेपालय – परिवारमा कत्तिको समय दिनुहुन्छ सीतारामजीले ?
कुञ्जना  काममा व्यस्त भएर घरमा समय दिने फुर्सद नै हुँदैन । अहिले झन सरकारले सरसफाइदूत बनाइदिएपछि त झन व्यस्तता बढेको छ । कहिलेकाहीं त रिस पनि उठ्छ । कहिलेकाहीं त रिस पनि उठ्छ । घरमा छोरी पनि छ । घरको लागि समय दिनोस् भन्दा अहिले हाम्रो काम गर्ने वेला हो । अहिले राम्रो काम गरे यसको फल पछि मिल्छ भन्नुहुन्छ ।
नेपालय – आफूहरु दुवै व्यस्त भएर बच्चालाई समय दिन नसक्दा कस्तो लाग्छ ?
कुञ्जना –  बच्चा भन्ने कुरा आफ्नो भएपछि झन् बढी थाहा हुँदो रहेछ । बच्चाले जे गर्दा नि किन उनीहरुका अभिभावकले स्वीकार गर्छन् भन्ने कुरा आफ्नो बच्चा भएपछि थाहा हुँदोरहेछ । समय दिन नसक्दा पीडा त हुन्छ नै । अहिले पनि छोरीसँग भाइबरमा कुरा गर्न खोज्दा कुरा गर्न मान्दिन रिसाएर । झन् हाम्रो पेसा नै त्यस्तै छ । १०–५ को जागिर होइन । चाडपर्व नि भन्न पाइँदैन ।
यो सबै बिर्साउन मैले एउटा कुरा सम्झन्छु जन्मँदाजन्मँदै आफ्ना बालबच्चा छोडेर जाने कैयौं नेपाली दाजुभाइ दिदीबहिनीहरु पनि हुनुहुन्छ । उहाँहरुले वर्षौंसम्म पनि आफ्ना बालबच्चालाई भेट्न पाउनुहुन्न । ठूलो भइसकेपछि यी मेरै छोराछोरी हुन् भन्ने त्यस्तो समयमा फर्कनुहुन्छ । त्यो सबै उहाँहरुको बाध्यता हो । कसमेकम त्योभन्दा त हामीले त कहिलेकाहीं समय दिन भ्याउँछौं भन्ने लाग्छ । त्यही कुराले चित्त बुझाउँछु । मेरो घरमा दिदीभिनाजु र आमा बुवा हुनुहन्छ मैलेभन्दा बढी हेरचाह, माया गर्नुहुन्छ त्यसले पनि मलाई ढुक्क बनाएको छ ।
नेपालय – सीतारामजीको मनपर्ने पक्ष के हो ?
कुञ्जना – काम नै हो । काम भनेपछि यस्तरी लाग्नुहुन्छ कि दायाँवायाँ केही सोच्नुहुन्न क्या । घरिघरि त रिस पनि उठ्छ । मन पर्ने पनि र नपर्ने पनि यहि पक्ष हो ।
नेपालय – मन नपर्ने, सुधार गर्नुपर्ने बानी के छ ?
कुञ्जना – घरमा समय दिनोस् भन्ने नै हो । उहाँ यति व्यस्त हुनुहुन्छ कि छोरीले बाबै चिन्दैचिन्दिन । उहाँलाई कमसेकम छोरीले चाहिँ चिनोस् भन्ने मेरो चाहना हो ।
नेपालय – कुञ्जनाजीको मन पर्ने पक्ष चाहिँँ के हो ?
सीताराम – उनी निडर, साहसी, आँटिली छिन् । सत्यलाई पछ्याउने, असत्यको मुकाविला गर्ने बानी छ । मन सफा छ । मन पर्ने पक्ष त्यही हो ।
नेपालय – मन नपर्ने र सुधार्नु पर्ने पक्ष के लाग्छ ?
सीताराम ः मन नपर्ने पक्ष केही छैन् । मैले समय दिन नसक्दा पनि घरपरिवारमा समय दिएकी छिन् । पेशामा पनि उत्तिकै रामै्र छ । सबै राम्रै छ ।
नेपालय – भान्छामा कत्तिको सहयोग गर्नुहुन्छ तपाईंले ?
सीताराम – पहिले धेरै नै गर्थें । अहिले समय दिन सकेको छैन । तरकारी पनि मीठै बनाउने मान्छेमा पर्छु म । जे होस् यो काम मेरो हो यो तेरो हो भन्ने छैन । सहयोग गरिरहन्छु ।
नेपालय – खानामा बढी के रुचाउनुहुन्छ सीतारामजीले ?
कुञ्जना – चिल्लो पिरो कम ।
सीताराम – ग्यास्ट्रिकमा पिएचडी हो म चाहिँ । अनि नेपाल दीर्घरोग एसोसियसनको केन्द्रीय अध्यक्ष पनि भएको थिएँ । ( यो ठट्टालाई केही संकेत गर्नुपर्छ कि… यत्तिकै राखौं ? )
कुञ्जना – सादा खाना खानुहुन्छ उहाँ । हाम्रो देशमा सतिप्रथा उन्मुमलन भइसक्यो तर यो कुरामा सतिप्रथा उन्मुलन भएको छैन । यो कुरामा चाहिँ उहाँसँगै सति जानुपर्छ । घरको खानामा चाहिँ उहाँसँगै सहिद हुनुपर्छ मैले ।
नेपालय – पहिरनमा उहाँ कत्तिको सौखिन हुनुहुन्छ ?
कुञ्जना – ओ हो ! त्यसमा त भन्नै पर्दैन । मैले ल्याइदिएको पनि राम्रोसँग लगाइदिए त हुन्थ्यो । केही मतलब गर्नुहुन्न । विगतलाई कहिल्यै पनि बिर्सनुहुन्न भन्नुहुन्छ । मलाई यत्तिकै ठिक छ भन्नुहुन्छ । मलाई कहिलेकाहीं हुन्छ नि आफ्नो लोग्नेलाई राम्रो देखाऊँ भन्ने लागेर केही लगाइदिए पनि भोभो मलाई अफ्ठेरो भो नलाइदेउ भन्नुहुन्छ । घरिघरि त म उहाँलाई लक्ष्मीप्रसाद देवकोटा हो क्या हो तपाईं भन्छु ।
नेपालय – कुन पहिरनमा उहाँ राम्रो देखिनुहुन्छ ?
कुञ्जना – मलाई उहाँले जेल लगाएर गर्मीमा कुल टाइपको टिसर्ट लगाएर हिँडेको मनपर्छ । कहिलेकाहीं चप्पल लगाएको पनि मन पर्छ । उहाँलाई हेरेर मैले त मेरो सलमान खान नि यहि, मेरो शाहरुख खान नि यहि हो भनेर कल्पना गर्नुपर्छ (हा… हा… हा…) । उहाँ इन्फरमल भएर हिँडेको हेर्न मन छ । तर त्यस्तो लगाउनुहुँदैन ।
नेपालय – भनेपछि सपिङ तपाईं नै गर्नुहुन्छ ?
कुञ्जना – सपङि त मैले नै गर्छु । यो चिजमा मलाई नलैजाऊ । तिमीले जे किन्छ्यौ त्यही ठिक छ भन्नुहुन्छ ।
नेपालय – कुञ्जनाजीलाई पहिरनमा कत्तिको सौखिन पाउनुहुन्छ ?
सीताराम – यिनी एकदमै फेसनेवल छिन् । बजारमा जेजे नयाँ कपडा आए त्यो चाहिँ किन्नै पर्छ भन्ने सिद्धान्त भएकी मान्छे हुन् यिनी । यिनले कतिखेर के किन्छिन् भन्ने कुरा मलाई थाहा हुँदैन । मेरो लागि पनि उनैले सपिङ गरिदिन्छिन् ।
मेरो ध्यान भने राष्ट्रका लागि के गर्न सकिन्छ भन्नेतिर जान्छ । टेलिसिरियललाई कसरी राम्रो बनाउने भन्नेतिर सोच्छु । नयाँ नयाँ पात्र कसरी सिर्जना गर्ने, मान्छेसँगको भेटघाटालाई कसरी प्रभावकारी बनाउने भन्नेतिरै मेरो ध्यान जान्छ ।
नेपालय – कुञ्जनाजीले बनाएको सबैभन्दा मनपर्ने परिकार हो ?
सीताराम – यिनले सबै मीठै बनाउँछिन् । (यसमा लामो हाँसो भनेर लेख्नोस् है लामो हाँसो)
कुञ्जना – मीठो बनाउन पाएको यस्तो स्वाद भन्नु । उहाँलाई त जति नमीठो र साह्रो भयो त्यति मन पर्छ ।
सीताराम – हाम्रो बिहे भएको ४ वर्ष भयो यो बीचमा यिनले बनाएको घरमा ७ दिन पनि खाइएन जस्तो लाग्छ मलाई । हामी बाहिरबाहिर जाने घर त हाम्रो ट्रान्जिट स्टेसन जस्तो भएको छ ।
कुञ्जना – यस्तो पनि हो । म त माइतमा भात पनि नपकाएकी मान्छे । हाम्रो केसमा के भइदियो भने हाम्रो घरमा बस्ने समय नै हुँदैन । त्यसमाथि उहाँ त सादा खाना खाने मान्छे । स्पेशल चिज बनाउछु भने पनि उहाँलाई मन पर्दैन । कोही साथी आए भने बल्ल मैले बनाएर खुवाउने हो । नत्र दुईजना मात्रै हुँदा त्यस्तो केही स्पेशल बनाउने हुँदैन । जति सादा भयो त्यति मन पराउने मान्छे हो उहाँ ।
नेपालय – भनेपछि भान्छाको अनुभव त सीतारामजीलाई छ कि क्या हो ?
कुञ्जना – सुरुमा त सघाउनुहुन्थ्यो । अहिले त पानी पनि मैले नै लगिदिनुपर्छ उहाँलाई । अहिले त फुर्सदै छैन उहाँलाई । खाना खाने समय त छैन उहाँसँग (हा… हा… हा..)।
सीताराम – खाना त खान्छु है । एकदम भोक लागिरहन्छ ।
नेपालय – तपाईं चाहिँ खानामा सौखिन हुनुहुन्छ ?
सीताराम – यिनी त सौखिन छिन् है । चिकेन मःमका डल्ला यिनी खुब खान्छिन् ।
कुञ्जना – खानामा मचाहिँ नियन्त्रण गर्न सक्दिनँ । मान्छे खानकै लागि बाँच्ने हो । भोलि रोग लाग्यो भने खान पाइँदैन । आत्माले मागेको खानुपर्छ भन्ने मलाई लाग्छ । हामी बाहिरै धेरै खान्छौं । घरमा चाहिँ मासु नखाऔं है भन्छौं हामी । म सौखिन छु । कोल्ड कफी, मःम साह्रै मन पर्छ ।
नेपालय – अमेरिकामा बस्ने नेपालीलाई केही भन्नुछ ?
सीताराम – अमेरिकामा हुनुभएका नेपाली र नेपालीभाषि सबैले हाम्रो कलाकारितासँगै हाम्रो सरसफाइको अभियानलाई साथ दिनुभएको छ । यो सहयोग र साथको लागि धेरै धन्यवाद दिन चाहन्छु । र यो निरन्तर रहिरहोस् ।
कुञ्जना – मेरी बास्सैलाई माया गरिदिरहनुहोस् । एउटा आदर्श जोडी बन्न चाहन्छौं हामी । त्यसको लागि श्रीमानश्रीमती दुवैको साथ, सहयोग, समझदारी चाहिन्छ । हामी कसैको जोडि फुटेको हेर्न चाहँदैनौं । लोग्नेस्वास्नीको झगडाले बच्चाको भविष्यलाई असर पार्न सक्छ । यसमा ध्यान दिनोस् ।
मेरि बास्सैलाई दिएको माया सदा रहिरहोस् । कसरी राम्रो बनाउन सकिन्छ सल्लाह सुझाव दिनोस् ।
सरकारले हामीलाई सरसफाइदूत बनाएको छ । नेपाल हामी सबैको हो । हामी राजनीतिमा लागेका छैनौं, सामाजिक काममा लागेका छौं यसमा पनि सबैले साथ दिनोस्