विराटनगर महानगरको मेयरमा कांग्रेसबाट भीम पराजुली उम्मेदवार, उपमेयरमा इन्दिरा

विराटनगर, जेठ ३१,

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेदवार बनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले पराजुलीलाई महानगर प्रमुखको उमेदवार बनाउन निर्णय गरेको हो । त्यस्तै, कांग्रेसले विराटनगर महानगरको उपमेयरमा इन्दिरा कार्कीलाई उठाउने निर्णय गरेको छ ।

मेयर उम्मेदवार पराजुली केन्द्रीय सदस्य शेखर कोइराला निकट मानिन्छन् । पछिल्लो समय विराटनगर महानगरमा सांसद अमृत अर्यालको नाम चर्चामा आए पनि अन्तिम समयमा आएर कांग्रेसले पराजुलीलाई नै उम्मेदवार बनाएको हो । महानगरमा पराजुलीसहित सांसद अमृत अर्याल र नेतृ डिला संग्रौला दाबेदार थिए । पार्टी संस्थापन पक्ष सांसद अमृत अर्याल, मोरङ सभापति डिकबहादुर लिम्बुले डिला संग्रौलालाई प्रमुखको उमेदवार बनाउन पहल गरिरहेका थिए ।

पराजुली महेन्द्र मोरङ क्याम्पसका पूर्वस्ववियु सभापति हुन् भने हाल विराटनगर कांग्रेस नगरका सभापति समेत हुन् ।

नेकपा एमालेले स्थानीय नेता विनोद ढकालाई महानगर प्रमुखको उमेदवार बनाएको छ ।