अमेरिकी सैनिकलाई वीरता पदक

असार ८, काठमाडौं ।

विनाशकारी भूकम्पपछिको उद्धारमा खटिँदा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका अमेरिकी सैनिकलाई ‘वीरता पदक’ प्रदान गरिएको छ । उद्धारमा खटिँदा उनीहरू चढेको हेलिकोप्टर सिन्धुपाल्चोकमा दुर्घटनामा परेको थियो ।

सो दुर्घटनामा अमेरिकी सेनाका चालक क्रिस्टोफर एल नोग्र्रेन, क्याप्टेन दुस्टिन लुकासिन्जेज, वार्ड जोन्सन, इरिक सेइम्यान, सारा मेडिना, सेयान माइकल बार्टोन र नेपाली सेनाका सहसेनानी तपेन्द्रबहादुर रावल र जमदार वसन्तबहादुर तिताराको निधन भएको थियो ।

उनीहरूको अतुलनीय योगदानको कदरस्वरूप नेपाल सरकारबाट प्रदान भएको सो पदक प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक जंगी अड्डामा काठमाडौंस्थित अमेरिकी सैनिक सहचारी प्रमुख सेनानी ग्रेगरी डी पिप्सलाई प्रदान गरे । समारोहमा प्रशंसनीय कार्य गरी राष्ट्रलाई गरेको योगदानको कदरस्वरूप २०७३ सालमा सरकारद्वारा प्रदान गरिएको विभूषण, अलंकार तथा पदक पनि प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।