वाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा

काठमाडौं, आश्विन ३१, २०७४ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही वामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् ।

पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले भने, ‘कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ ।’

प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन कांग्रेस एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले कांग्रेसलाई जोगाउने काम नेवि संघको भएको बताए । उनले संसारबाट हराउँदै गएको कम्युनिष्ट व्यवस्था नेपालमा लागू हुननसक्ने बताए ।

पार्टीका महामन्त्री शशांक कोइरालाले नेपालको लोकतन्त्रलाई समाप्त पार्न वाम गठबन्धन भएको बताए । उनले इतिहास, सिद्धान्त र कार्यकर्ता भएकाले कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गरे ।

सूचना तथा सञ्चारमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन विद्यार्थीलाई आवश्यकताअनुसार परिचालन गनुपर्ने बताए ।

कार्यक्रममा नेवि संघका अध्यक्ष नैनसिंह महर तथा महामन्त्री कुन्दनराज काफ्लेले कांग्रेस सरकारको समयमा नेपालको शिक्षा क्षेत्रले महत्वपूर्ण फड्को मारेको भन्दै मुलुकको समृद्धि पनि कांग्रेसले नै गर्ने बताए ।

देशभरबाट भेलामा भाग लिन राजधानी आएका नेवि संघका सयौँ नेता कार्यकर्तालाई कांग्रेस नेता प्रदीप गिरी, महेश आचार्य, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको नेवि संघले जनाएको छ ।

रासस