उपचारको नाममा महिलालाई यौन धन्धा गराउने भारतीय ‘बाबा’ पक्राउ

नयाँदिल्ली : भारतको लखनउस्थित काले बाबा नामका एक व्यक्तिले उपचारको नाममा महिलाहरुलाई जबर्जस्ती यौन धन्धा गराउँदैआएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

 

स्थानीय मिडियाका अनुसार मस्जिदको रेखदेख गर्दैआएका काले बाबा नामका ती पुरुषले ठाकुरगन्जस्थित हुसेनबादमा रहेको मस्जिदभित्रै यस्तो धन्धा चलाउने गरेका हुन् । प्रहरीले पक्राउ गरेपछि महिलाहरुलाई यौन धन्धामा संलग्न गराउने गरेको कुरा ती बाबाले स्वीकार गरेका छन् । साथै स्थानीयले एक महिला र पुरुषलाई कोठाभित्र आपत्तिजनक अवस्थामा भेटेपछि उनीहरुले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

 

कोठाभित्रको दृश्य भिडियो खिचेर स्थानीय युवाले सामाजिक सञ्जालमा समेत राखिदिएका छन् । जुन केही घण्टाभित्रै भाइरल बनिसकेको छ । ती बाबालाई पक्राउ गरेपछि स्थानीय प्रहरीले यस घटनालाई छानविन गरिने जनाएको छ ।

भारतमा यसअघि पनि धर्म वा उपचारका नाममा महिलाहरुलाई यौन शोषण गरेको अभियोगमा पटक पटक गरी दर्जनौँ ‘बाबा’ पक्राउ परिसकेका छन् ।एजेन्सी