अमेरिकाले भन्यो– चीनको आक्रामक व्यवहारका कारण भारतसँग मिल्नु महत्त्वपूर्ण

अमेरिकी सरकारका एक अधिकारीले हिमालयदेखि दक्षिण चीन सागरसम्म इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो आक्रामक व्यवहार नियाल्दै भारतजस्ता सहयोगीसँग मिलेर काम गर्नु महत्त्वपूर्ण रहेको बताएका छन् ।

क्वाडको विस्तार गर्ने योजना तत्कालै नरहेको पनि यी अधिकारीले बताएका छन् । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई चुनौती दिन अमेरिका,जापान, भारत र अस्टे«लियाले मिलेर क्वाड गठन गरेका हुन् । अमेरिकी अधिकारीले भनेका छन्,‘क्वाड शिखर सम्मेलनबारे अहिले कुनै योजना बनेको छैन । तर भविष्यमा जे पनि हुनसक्छ ।’

 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क ईस्पर आगामी साता भारत भ्रमणमा आउने तय भइसकेको अवस्थामा अमेरिकी सरकारका अधिकारीको यो भनाइ बाहिरिएको हो । विदेशमन्त्री पोम्पियो तेस्रोपटक भारत आउन लागेका हुन् । झन्डै एक महिनाभन्दा कम अवधिमा उनी दोस्रोपटक एशिया भ्रमणमा आउन लागेका हुन् । भारतबाहेक उनी माल्दिभ्स, श्रीलंका र इन्डोनेशियाको भ्रमणमा पनि हुनेछन् ।एजेन्सी