कमलाका श्रीमान् डग एमहाफले जागिर छोड्ने, श्रीमतीलाई मद्दत गर्न थुप्रै महिनादेखि छुट्टीमा

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हमला ह्यारिसका श्रीमान् डग एमहाफ श्रीमतीको मद्दतका लागि जागिर छोड्ने तयारीमा छन् । उनलाई अमेरिकी मिडियामा सेकेन्ड जेन्टलम्यान भनिएको छ । एमहाफ यहूदी मूलका हुन् र पेशाले वकिल हुन् । यद्यपि, अगस्टमा जब कमलालाई उपराष्ट्रपति पदको उम्मेद्वार घोषित गरेको केही दिन पछि नै डगले छुट्टी लिएका थिए । चुनावी अभियानको क्रममा उनी निकै सक्रिय देखिएका थिए । हालै डेमोक्रेट पार्टीले जब चुनाव जिते तब बाइडेन र कमला ह्यारिससँग एमहाफ पनि देखिएका थिए ।

 

एमहाफको तारिफः

२० जनवरीमा जो बाइडेन अमेरिकाका राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति बन्नेछिन् । यूएसए टुडेले कमला र डगमाथि एक रिपोर्ट प्रकाशित गरेको छ । यसमा बताइए अनुसार चुनावी अभियानमा मद्दत गरेपछि अब एमहाफ प्रशासनमा पनि श्रीमतीलाई मद्दत गर्नेछन् । यद्यपि, उनी कुनै सरकारी पद भने लिने छैनन् । डरमाउथ कलेजकी प्राध्यापक एला बेल भन्छिन्, ‘यसलाई आदर्श र उदाहरणको रुपमा हेरिएको छ । उनी श्रीमतीका लागि आफ्नो करियर छोडिरहेका छन् । कमलाले आफ्नो प्रतिभा देखाउन सकोस् भनेर उनले यसो गर्दैछन् । डग श्रीमती सफल भएको हेर्न चाहन्छन् । एमहाफ असाध्यै सफल र धुरन्धर वकिल हुन् । यति राम्रो करियर छोड्न सहज छैन ।’

 

एमहाफ उदाहरण बन्नेछन्ः

व्हार्टन सेन्टरमा लिडरशिप एक्सपर्ट माइकल उसिन भन्छन्, ‘उनी अमेरिकामा एक नयाँ परम्परा र उदाहरण पेश गर्नेछन् । उनको उचाईं र व्यवहारले अमेरिकी जनतालाई एक सन्देश दिनेछ ।’

बाइडेनले अभियानको क्रममा डगतर्फ इशारा गर्दै भनेका थिए, ‘तपाईंले परम्परा र मान्यताको बाधा समाप्त गर्नुभएको छ । ’

एमहाफलाई जब यसबारे सोधिएको थियो तब उनले भने, ‘जब मानिसहरुले मजस्तो व्यक्तिबारे यस्तो सोच्नुहुन्छ भनेर थाहा पाउँछु, तब निकै राम्रो लाग्छ ।’

अभियानको क्रममा उनले आफ्नो कानून व्यवसायबाट लामो छुट्टी लिएका थिए किनभने उनको ल फर्म डएिलए पाइपरमाथि कमला ह्यारिसको अभियानलाई मद्दत गरिरहेको छ भनेर आरोप नलागोस् भन्ने उनको सोच थियो ।

 

बाइडेनकी श्रीमतीले के गर्लिन ?

रिपोर्टका अनुसार जो बाइडेनकी श्रीमती जिलले आफू अमेरिकाकी फर्स्ट लेडी बनिसकेपछि पनि आफू शिक्षकको जागिर नछोड्ने स्पष्ट पारेकी छिन् । जिलले भनिन्, ‘श्रीमान् जब उपराष्ट्रपति थिए, त्यतिबेला पनि म आफ्नो काम गर्थेँ । अब पनि त्यहि गर्नेछु ।’

राजनीतिक विज्ञ एले हिल भन्छिन्, ‘थुप्रै परिवारमा श्रीमतीले घर चलाउलान् तर राजनीतिमा यस्तो घटना निकै कम देखिन्छ । अबको चार वर्ष अब एक आदर्शवाद देखिनेछ । ’

कमला र एमहाफको पहिलो भेट सन् २०१३ मा भएको थियो । सन् २०१४ मा दुबैले विवाह गरेका थिए । एमहाफको सम्बन्धविच्छेद भइसकेको थियो । उनका दुई सन्तान छन् । उनीहरु अहिले पनि सँगै बस्छन् । एजेन्सी